१४ निर्जीवन बीमा कम्पनीहरुको लगानी ६८ अर्ब ७४ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी

काठमाडौँ । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६८ अर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा रहेर विभिन्न क्षेत्रमा कुल ६८ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका हुन् ।
नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सबैभन्दा बढी लगानी रहेको छ । समीक्षा अवधिमा कम्पनीको विभिन्न क्षेत्रमा कुल आठ अर्ब ६१ करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीले शिक्षा, बैकिङ तथा पूर्वाधार लगायतका विषयमा लगानी विस्तार बढाउँदै गएको छ ।
लगानी विस्तारको क्रममा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ । कम्पनीको विभिन्न क्षेत्रमा कुल आठ अर्ब १२ करोड रुपैयाँ लगानी रहेको छ । साथै, विभिन्न लगानीका क्षेत्रमा नेको इन्स्योरेन्सको छ अर्ब ५३ करोड रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छ अर्ब ४८ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको पाँच अर्ब २१ करोड ७ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको पाँच अर्ब ६ करोड रुपैयाँ लगानी रहेको छ ।
साथै, चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा नेपाल इन्स्योरेन्सको चार अर्ब ७८ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको चार अर्ब ७६ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको तीन अर्ब ९५ करोड, द ओरिएन्टल इन्स्योरेन्सको तीन अर्ब ७८ करोड र सानिमा जिआईसी इन्स्योरेन्सको तीन अर्ब ४७ करोड रुपैयाँ बराबरको विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सको विभिन्न क्षेत्रमा दुई अर्ब ७७ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको दुई अर्ब ६८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सको दुई अर्ब ४९ करोड रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणको अनुमतिमा निर्जीवन बीमा कम्पनीहरुले शिक्षा तथा पूर्वाधार विकासमा लगानी गरिरहेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा ५३ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन् ।
साथै, निर्जीवन बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको शेयरमा चार अर्ब ३९ करोड रुपैयाँ, सरकारी बचतपत्र तथा ऋणपत्रमा ५२ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा तीन अर्ब पाँच करोड रुपैयाँ लगानी गरेका छन् ।
कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ८३ करोड ३९ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १२ करोड ७ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा एक अर्ब ५६ करोड ७४ लाख रुपैयाँ लगानी गरेका छन्।