राष्ट्रिय बीमा कम्पनीको बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि, पशुपक्षी तथा जडिबुटी बीमाका लागि अभिकर्ता तयार गर्न चार दिने आधारभूत तालिम सम्पन्न गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालयले माघ २० देखि २३ गतेसम्म काठमाडौंको बानेश्वरस्थित अल्फा हाउस बैंक्वेटमा उक्त तालिमको आयोजना गरेको हो। तालिमपछि परीक्षा समेत सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार भट्टराईले अभिकर्ताको भूमिकाबारे प्रकाश पार्दै बीमा व्यवसायको प्रभावकारिता बढाउने आवश्यकतामा जोड दिए। कार्यक्रममा व्यवस्थापन विभाग प्रमुख देवराज घिमिरे लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
तालिम समापन कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुबास कोइराला, प्रमुख व्यवस्थापक रजनी पौडेल, व्यवस्थापक निरञ्जन आचार्य लगायतले तालिममा सहभागीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।
सहभागी प्रशिक्षार्थीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएको कम्पनीले बताएको छ। कम्पनीका व्यवस्थापक देवराज घिमिरेले सफलतापूर्वक तालिम सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।