पुँजी बजार उछालः परिसूचक २७२७ बिन्दुमा, पाँच महिना यता कै उच्च कारोबार

२० माघ २०८१, आईतवार १५:०७

काठमाडौँ । चार दिनपछि खुलेको शेयर बजारमा आज हरियाली देखिएसँगै लगानीकर्ताहरूमा उत्साह छाएको छ। नेप्से परिसूचकमा सुधार देखिएपछि बजारमा नयाँ ऊर्जा संचार भएको छ ।

बजार विश्लेषकहरूका अनुसार शेयर बजारको यो सकारात्मक सुरुवातले आगामी दिनमा बजारमा थप गति आउने अपेक्षा गरिएको छ। सरकारी पहल र बैंकहरूको सस्तो ब्याजदरले बजारलाई बलियो बनाउने आशा गरिएको छ।

नेप्सेले विगत लामो समय बियरिस अवधिमा बिताइसकेपछि अब बुल रनमा प्रवेश गर्ने उपयुक्त समय भएको जानकारहरूको भनाइ छ। अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको विभिन्न पहलले बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । विशेषज्ञहरूले लगानीकर्तालाई वित्तीय रूपमा सबल र राम्रो लाभांश दिने कम्पनीहरूमा लगानी गर्न सुझाव दिएका छन् । यस्ता कम्पनीहरूले लगानीको जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने हुँदा दीर्घकालीन रूपमा मुनाफा कमाउन सकिने विश्वास गरिन्छ ।

आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न सुधारका प्रयास गरिरहेको छ। बजारलाई थप परिस्कृत बनाउन बैंक ब्याजदर सस्तो बनाउनु र निजी क्षेत्रको सहभागिता बढाउनु सकारात्मक कदम भएको बताइएको छ । नेप्सेमा आएको यो हरियालीले शेयर बजारको दीर्घकालीन उज्यालो सम्भावना देखाएको छ। लगानीकर्ताहरूले सही रणनीति अपनाएर अगाडि बढ्दा बजारबाट थप फाइदा लिन सकिने विश्वास गरिएको छ ।

कारोबार रकमले फड्को मारेको छ । कारोबार २०८१ भदौ १८ यता कै उच्च भएको छ ।सो दिन १३ अर्ब ५७ करोडको कारोबार भएको थियो । आज १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ । यसदिन ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर किनबेच भएकोछ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.८० अकंले बढेर २७२७.५८ बिन्दुमा कायम भएको छ । आइतबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.५२ प्रतिशत, विकास बैंक समूहको ३.१५ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*