पाथीभरा केबलकार निर्माण विरुद्धको आन्दोलनले पूर्वी नेपालको जनजीवन प्रभावित

काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा केबलकार निर्माणको विरोधमा पहिचान पक्षले आह्वान गरेको बन्दको प्रभावले पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दको पहिलो दिन यातायात बन्दले नागरिकहरुलाई आवत–जावत तथा दैनिक कार्यमा समेत प्रभाव पारेको छ ।
ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन नहुने माग राख्दै सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिएको हो। बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ। मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन् ।
केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै अरुणपूर्वका नौं जिल्लामा बन्दको आह्वान गरेको थियो ।