निर्माण व्यवसायीहरू भ्याट बिल काट्न डराएका हुन् बक्याैता बाँकी छैनः अर्थमन्त्री पाैडेल

२० माघ २०८१, आईतवार १०:५४

काठमाडौं । उप प्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले निर्माण व्यवसायीहरूले भ्याट बिल काट्न डराएको बताएका छन् । महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले भने, ‘निर्माण व्यवसायीको भुक्तानी बक्यौता छैन, बिल नै आएको छैन ।’

मन्त्री पौडेलले निर्माण व्यवसायीहरू बिल काट्ने बित्तिकै भ्याट तिर्नुपर्ने भन्दै डराएको बताए । ‘भ्याट त सरकारको आय हो त्यो नियम अनुसार तिर्नुपर्छ । भ्याट बिल नै नकाटेर सरकारले पैसा दिएन भन्न मिल्दैन’ मन्त्री पौडेलले भने ।

अर्थमन्त्री पौडेलका अनुसार गत वर्षको निर्माण क्षेत्रको भुक्तानी दायित्व यो वर्ष सारिए पनि हालसम्म सबै भुक्तानी भइसकेको छ। ‘बिल आएका र कानूनी मापदण्ड पूरा गर्ने व्यवसायीहरूको दाबी सहज रूपमा भुक्तानी हुनेछ’ उनले दाबी गरे।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार नीतिगत परिवर्तनमार्फत सक्रिय रहेको बताए। उनले निजी क्षेत्रको सुझावलाई मध्यनजर गर्दै सरकारले थला परेको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण नीति निर्माणको प्रक्रिया अघि बढाएको उल्लेख गरे।

उनका अनुसार अध्यादेशमार्फत थुप्रै योजना समाधानमा अघि बढिसकेका छन्। ‘निजी क्षेत्रका केही समस्या समाधान भइसकेका छन्, जसले उनीहरूलाई उत्साहित बनाएको छ’ उनले भने। रोजगार र पुँजी वृद्धि गर्ने क्षेत्रका व्यक्तिहरूको मनोबलमा सुधार आएको भन्दै उनले नीतिगत परिवर्तनको सकारात्मक असर विस्तारै देखिने विश्वास व्यक्त गरे।

अर्थमन्त्री पौडेलले कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सरकार निश्चित आधार तयार गरिरहेको पनि स्पष्ट पारे। उनले निजी क्षेत्रलाई निरन्तर साथ दिने सरकारको प्रतिबद्धता दोहोर्याउँदै अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गरे ।

पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले व्यवसायीहरूले आफ्नो दायित्व पूरा गर्न जोड दिनुपर्ने धारणा राखे। ‘सरकारले निर्माण व्यवसायलाई व्यवस्थित बनाउन नियमनलाई थप प्रभावकारी बनाउँदैछ’उनले भने।

सरकारले निर्माण क्षेत्रको खर्च तीव्र बनाउन आवश्यक नीतिहरू कार्यान्वयनमा ल्याएको दाबी गरेको छ। व्यवसायीलाई भ्याट बिल पेश गर्न आग्रह गर्दै सरकारले नियमसम्मत भुक्तानी सुनिश्चित गरिने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*