लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारलाई धक्का, के छन् सकारात्मक हुनै पर्ने आधारहरु ?

१७ माघ २०८१, बिहीबार १६:२०

काठमाडौँ । पछिल्लो समय पुँजी बजार सुस्त छ । नेप्से सूचक हाल २६ सय बिन्दुको वरिपरी घुमि रहेको छ । सूचक यो स्तरमा आएपछि पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन । कहिले करेक्सनमा गएको त कहिले साइडवेजको अवस्थामा रहेको बजारले लामो समयदेखि स्थिर अवस्था व्यतीत गरेको छ ।

बजारले गती नलिएसँगै लगानीकर्ता निराश बनि रहेका छन् । आशवादी बनेर बसेका लगानीकर्तालाई बजारले सकारात्मक संकेत दिन सकेको छैन । प्राविधिक विश्लेषकहरू भने यो बजार चक्रको एक सामान्य प्रक्रिया भएको तर्क गर्दै आइरहेका छन् । उनीहरूका अनुसार करेक्सन र साइडवेज चरण पूरा भएपछि बजारले सकारात्मक दिशा लिने अपेक्षा गरिएको छ ।

शेयर बजारलाई जस्तो सुकैकुराले पनि प्रभाव पारि रहेको हुन्छ । पछिल्लो समय बजार प्रत्यक्ष प्रभाव राजनीति अस्थिरताले हुँदै आइरहेको छ । बैंक ब्याजदरको अवस्था, तरलता, कम्पनीहरूको मुनाफा तथा लाभांश र मुलुकको समग्र अर्थतन्त्रको स्थिति शेयर बजारका लागि महत्त्वपूर्ण मानिन्छ । यस्तै, सरकारको पुँजी बजारप्रतिको दृष्टिकोण र समयानुकूल नीतिहरूको पनि ठूलो प्रभाव रहन्छ ।

हालको अवस्थामा बैंकहरूको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ भने प्रणालीमा तरलता पर्याप्त देखिएको छ । शेयर बजारको शत्रुको रुपमा लिइने ब्याजदर निरन्तर ओरालो लागेपनि लगानीकर्ता लगानी गर्ने तत्पर भएको देखिदैन ।

यद्यपि, सूचीकृत कम्पनीहरूको मुनाफा घटेको र लाभांश दर केही खुम्चिएको कारणले बजारमा सकारात्मक प्रभाव देखिन सकेको छैन । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक भइसकेको छ । अधिकांश सूचीकृत कम्पनीहरूले साधारण सभा गरी लाभांश वितरण सुरु गरेका छन् । धेरै कम्पनीहरूको बोनस सेयर र हकप्रद सेयरको मूल्य समायोजन पनि सम्पन्न भइसकेको छ । तर पनि बजारले ठोस सुधार देखाउन सकेको छैन ।

मार्केटका लागि आवश्यक पर्ने अधिकांश सूचक सकारात्मक बाटो तिरै हुुँदा बजारले लय नसमाउनुको प्रमुख कारण लगानीकर्ताको आत्मविश्वास कमजोर हुनु मानिन्छ । लगानीकर्ताहरू बजारको उतारचढावप्रति अझै सजग देखिएका छन् । बाह्य अर्थतन्त्रका सूचकहरू मजबुत देखिए पनि आन्तरिक अर्थतन्त्रमा केही समस्या कायम रहेको छ । आर्थिक गतिविधिमा देखिएको संकुचनले बजारको मनोबललाई प्रभावित पारेको छ ।

अहिलेको अवस्था लगानीकर्ताले बेला–बेला धक्का लागी रहेको अर्का विषय हो मौद्रिक नीति । लगानीकर्ताको माग अनुसार मौद्रिक नीति आउन सकेको छैन । विशेष गरी शेयर धितो कर्जाको सीमा हट्नु पर्ने, जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने र ब्रोकर मार्फत सहज ब्याजदरमा मार्जिन ल्यान्डिङको व्यवस्था गर्न माग गरी रहेका छन् । तर, लगानीकर्ताको उक्त मागमा राष्ट्र बैंक मौन नीति लिदै आइरहेको छ । जसले गर्दा लगानीकर्ता मनोबल थप कमजोर बन्दै गएको छ ।

सरकारले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न पहल गरिरहेको छ । बैंक ब्याजदर सस्तो हुँदा शेयर बजारमा लगानी बढ्ने सामान्य मान्यता भए पनि यसपटक भने बजारले सजिलै गति लिएको छैन । सर्वसाधारण लगानीकर्ताहरूले शेयर लगानी गर्दा सबल वित्तीय सूचक भएका र राम्रो लाभांश दिने कम्पनीहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ । राम्रो वित्तीय प्रदर्शन भएका कम्पनीहरूको सेयरमा लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सकिने विश्वास गरिन्छ । नेप्सेले विगतमा धेरै लामो बियरिस अवधि व्यतीत गरिसकेको छ । जानकारहरूका अनुसार समयको हिसाबले अब बजार बुल रनमा प्रवेश गर्ने उपयुक्त समय भएको छ ।

यदि सरकारले आन्तरिक अर्थतन्त्र सुधारका लागि थप प्रभावकारी नीति लागू गर्न सक्यो भने शेयर बजारले पनि त्यसको सकारात्मक प्रभाव लिन सक्ने सम्भावना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*