पाँच जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

१७ माघ २०८१, बिहीबार १६:४६

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये पाँच वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने छन् ।

हालसम्म नेपाल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०८०।०८१ को लागि यी बाहेकका अन्य नौ जीवन बीमा कम्पनीहरुले चाँही अझै पनि बोनसदर सार्वजनिक गरेका छैनन् ।

पाँच जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

कम्पनीहरुले घोषणा गरेको बोनशदर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो। कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने जनाएको छ। यस योजनामा सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, लघु सावधिक, केटाकेटी सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा, जीवन लक्ष्मी र जीवद उदय एकल जस्ता बीमा योजना समावेश छन्।

त्यस्तै सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो सुरक्षित र नौलो केटाकेटी जीवन बीमा योजनामा बीमितले बीमा अवधिअनुसार ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन्। त्यही प्रकारले जीवन समुन्नत बीमा योजनामा ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसको व्यवस्था गरिएको छ। सुनौलो भविष्य जीवन बीमा योजनामा विकल्प १ र २ का लागि ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। यस्तै सुनौलो भविष्य जीवन बीमाको एकल बीमाशुल्क योजनामा बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्नेछन्।

सावधिक जीवन बीमालेखकै केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजनामा बीमितले ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म र जीवन साहारा र अनमोल जीवन बीमा योजनामा ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिइने कम्पनीले जनाएको छ। अग्रिम भुक्तानी योजनाहरूमा पनि बोनस दर घोषणा गरिएको छ। यस बीमालेख अन्तर्गतका सबै बीमा योजनाहरूमा समान ५६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। त्यसैगरी अन्य योजनाहरू जस्तै जीवन सारथी योजनामा बीमितहरूले ६२ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदन आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

स्वीकृत बिमाङ्किय मूल्यांकन कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४०  देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनश दिने भएको छ ।

सूर्यज्योति लाइफ बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ । साथै नेपाल बीमा प्रधिकरणबाट Risk Based Capital निर्देशिकालाई पालना गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी RBC Valuation  स्वीकृत गर्ने पहिलो जीबन बीमा कम्पनी बन्न सफल भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर निर्धारण गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस २९ गते स्वीकृत गरेपछि बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमाअवधि अनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै कम्पनीको अर्काे बीमा योजना वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँसम्म र सिटिन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

त्यसैगरी सावधिक (रेगुलर) जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेख सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस पाउने भएका छन्।

त्यस्तै सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) बीमालेखमा बीमा अवधिअनुसार बीमितलाई कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजार प्रतिवर्षका दरले बोनस दिने घोषणा गरको छ।

यो बोनसदर कम्पनीले भुक्तानी गर्ने मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी र चालू बीमालेखमा लागू हुनुका साथै अर्काे बीमाङ्कीय प्रतिवेदन बमोजिम बोनसदर सार्वजनिक नभएसम्म यही बोनसदर लागू हुने स्पष्ट पारेको छ।

आइएमई लाइफ इन्स्योरेन्स

आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो।

सार्वजनिक नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक, सिमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ प्रति हजारका दरले बोनस दिने भएको छ। त्यसैगरी सामूहिक सावधिक बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ भने सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन्।

त्यस्तै अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिने जनाएको छ।

यता बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) योजनामा बीमा अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म र वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यसैगरी कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता) बीमा योजनामा बीमालेखको सम्पूर्ण बीमा अवधिका लागि समान २२ रुपैयाँ प्रति हजारका दरले बोनस दिने भएको छ।

यो बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य, चुक्तामूल्य तथा चालू बीमालेखमा समेत लागू हुने र कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म यही बोनसदर लागू हु्ने जनाएको छ।

मेट लाइफ

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०÷८१ सम्मको बीमाङ्कीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखमा लागू हुने गरी बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुुसार अग्रीम भुक्तानी बीमा योजना (थ्री पेमेन्ट प्लान) मा बीमितले बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस (प्रति हजारका दरले) पाउने भएका छन् । यस योजनामा कम्पनीले १ देखि १५ वर्षको बीमा अवधिमा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा अवधिको योजनामा ६५ रुपैयाँ बोनस दिने भएको हो।

त्यसैगरी अग्रीम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) बीमा योजनामा १ देखि १५ वर्षको बीमा अवधिलाई ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिलाई ५० रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ५५ रुपैयाँ बोनस दिने भएको छ।

त्यस्तै मेट लाइफले सावधिक जीवन बीमा योजनाको १ देखि १५ वर्षे बीमा अवधिमा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको अवधिको बीमा योजनामा ७५ रुपैयाँ अधिकतम बोनस दिने जनाएको छ।

कम्पनीले अर्को बीमा योजना शिक्षा संरक्षण बीमामा पनि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। जसमा १ देखि १५ वर्ष अवधिको योजनामा ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको योजनामा ६५ रुपैयाँ र २१ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ७५ रुपैयाँ बोनस दिने जनाएको छ।

यी बोनसदर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरूमा लागू हुने कम्पनीले बताएको छ। साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार नेपाल बीमा प्राधिकरणबाट नयाँ बोनसदर स्वीकृत नभएसम्म यही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*