निर्माण व्यवसायी महासंघको आन्दोलन स्थगित, प्रधानमन्त्रीसँगको वार्ता सकारात्मक

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना १४ बुँदे माग सम्बोधनका लागि अघि सारेको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ। माघ १६ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिमण्डलबीच भएको वार्ताले सकारात्मक मोड लिएको कारण महासंघले आन्दोलनका पूर्व घोषित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो।
महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा निर्माण उद्योगमा देखिएका समस्याहरू समाधानका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा कार्यदल गठन गर्न सहमति जनाइएको उल्लेख छ। यस छलफललाई महासंघले सकारात्मक रुपमा लिएको र तत्कालका लागि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको जानकारी गराइएको छ।
यसअघि महासंघले पुष २७ गते राष्ट्रिय भेला आयोजना गरी निर्माण क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारलाई १४ बुँदे माग प्रस्तुत गरेको थियो। आन्दोलनको कार्यक्रमअन्तर्गत माघ १५ गतेसम्म प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसमक्ष ज्ञापन पत्र बुझाइसकेको थियो।
महासंघले केन्द्रीय स्तरमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रमुख राजनीतिक दलका नेता तथा विभिन्न समितिका सभापतिहरूलाई ज्ञापन पत्र बुझाउने कार्यसमेत सम्पन्न गरिसकेको थियो।
प्रधानमन्त्रीसँगको छलफलमा महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीहरूबारे विस्तृत चर्चा गरेका थिए। छलफलपछि प्रधानमन्त्री ओलीले महासंघका मागहरू सम्बोधन गर्न आवश्यक कार्यदल गठन गर्न निर्देशन दिएपछि वार्ता सकारात्मक रुपमा सम्पन्न भएको महासंघले जनाएको छ।