लघुवित्तको ब्याज आम्दानीमा उल्लेख्य बृद्धिः दोस्रो त्रैमासमा कुनले कति कमाए ? (तथ्यांकसहित)

काठमाडौं । हालसम्म १४ वटा लघुवित्त कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तीय विवरणअनुसार १२ वटा कम्पनीहरूको खुद ब्याज आम्दानी बढेको छ भने २ वटाको घटेको छ।
वित्तीय विवरण सार्वजनिक गरेका १४ कम्पनीहरूमध्ये स्वावलम्बन लघुवित्तको खुद ब्याज आम्दानी सर्वाधिक रहेको छ। कम्पनीले पुस मसान्तसम्म ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। कम्पनीले गत वर्ष ६६ करोड ६६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
त्यसैगरी दोस्रोमा ग्रामीण विकास लघुवित्तले ५९ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्षको यसै अवधिमा ४८ करोड ९२ लाख रुपैयाँ थियो। त्यस्तै तेस्रोमा ग्लोबल आइएमई लघुवित्त रहेको छ। कम्पनीले चालू आवको ६ महीनामा ३५ करोड रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गर्न सफल भएको छ।
त्यस्तै आरम्भ चौतारीले १६ करोड १७ लाख रुपैयाँ, हिमालयन लघुवित्तले १५ करोड ३३ लाख रुपैयाँ, इन्फिनिटी लघुवित्तले १२ करोड ९० लाख रुपैयाँ, उन्नती सहकार्य लघुवित्तले ११ करोड ७२ लाख रुपैयाँ, आरएसडिसीले ११ करोड २१ लाख रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्सले ११ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
यता आत्मनिर्भर लघुवित्तले ६ करोड ५६ लाख रुपैयाँ, धौलागिरी लघुवित्तले ६ करोड ४१ लाख रुपैयाँ, गुराँस लघुवित्तले ५ करोड ६४ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सले ५ करोड १६ लाख रुपैयाँ र सामुदायिक लघुवित्तले ४ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्।
वृद्धिदरका आधारमा
यी कम्पनीहरूले चालू आवमा गरेको खुद ब्याज आम्दानीलाई गत आवसँग दाँजेर वृद्धिदरको आधारमा हेर्ने हो भने धौलागिरी लघुवित्त प्रथम स्थानमा रहेको छ। यस कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २०६.८१ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै गुराँस लघुवित्तको ९५.३४ प्रतिशत, सर्पाेट लघुवित्तको ७५.७५ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ४५.३७ प्रतिशत, हिमालयन लघुवित्तको ३०.७१ प्रतिशत, आरम्भ चौतारीको २६.०२ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको २२.४७ प्रतिशत र ग्रामीण विकास लघुवित्तको २२.४१ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि भएको छ।
त्यसैगरी स्वावलम्बन लघुवित्तको २०.०२ प्रतिशत, सामयुदायिक लघुवित्तको १९.९२ प्रतिशत, इन्फिनिटी लघुवित्तको १८.४४ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १५.४८ प्रतिशतले वृद्धि भएको छ भने २ वटा कम्पनी आरएसडिसीको ८.११ र फर्स्ट माइक्रोफाइनान्सको २७.५६ प्रतिशतले खुद ब्याज आम्दानी घटेको छ।