पूर्वाधारको विकास नभएसम्म अर्थतन्त्र लयमा ल्याउन सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक प्रगति पूर्वाधार विकासमा निर्भर रहेको भन्दै यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सको ८औं एक्स्पोमा सम्बोधन गर्दै उनले पूर्वाधारको अभावमा अर्थतन्त्रलाई लयमा ल्याउन चुनौती रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘जग बिना घर बन्दैन, त्यस्तै पूर्वाधार विकास नभएसम्म अर्थतन्त्र लयमा आउन सक्दैन। हामीले उत्पादन र पूर्वाधारमा जोड दिनुपर्छ। पर्याप्त उत्पादन भए मात्र निर्यात सम्भव हुन्छ।’
प्रधानमन्त्री ओलीले देशले अहिलेसम्म उत्पादनमा आवश्यक प्रगति गर्न नसकेको भन्दै ठूलो मात्रामा उत्पादनमा जोड दिनुपर्ने बताए। उनका अनुसार निर्यातमुखी अर्थतन्त्रको विकासका लागि उत्पादन क्षमताको विस्तार अपरिहार्य छ। ‘देशभित्र उत्पादन भएका कुनै पनि वस्तु निर्यात गर्न सकिने अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको छु।’उनले भने।
आधुनिक अर्थतन्त्रको विकासमा सूचना प्रविधि (आईटी) क्षेत्रको भूमिकालाई महत्व दिँदै प्रधानमन्त्री ओलीले यसलाई निर्यातमुखी बनाउने योजना रहेको स्पष्ट पारे। उनले भने, ‘आईटी क्षेत्र व्यापारको अभिन्न अंग बनेको छ। यो क्षेत्रलाई सरकारको नीतिगत सहायताबाट तीव्र गतिमा अघि बढाउने प्रयास भइरहेको छ।’
प्रधानमन्त्री ओलीले विगतको राजनीतिक अस्थिरताले अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गर्दै अब आर्थिक पुनरुत्थानमा सरकार गम्भीर रहेको बताए। ‘अर्थतन्त्रलाई लयमा फर्काउन सरकारको भूमिका महत्वपूर्ण छ। उद्योग र व्यापारको विकासमार्फत आर्थिक पुनरुत्थानमा ध्यान दिनेछौँ। उनले भने।
नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सरकार पूर्वाधार निर्माण, उत्पादन विस्तार र सूचना प्रविधिमा लगानीको माध्यमबाट अघि बढ्ने प्रधानमन्त्री ओलीको धारणा थियो।