म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी र न्याभ कस्को कति ?

१७ माघ २०८१, बिहीबार ११:३९

काठमाडौँ । पछिल्लो समयमा पुँजी बजारमा देखिएको सुस्तताका कारण म्युचुअल फण्डको नाफा, खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर लगानीमा गिरावट आएको छ । पुस महिनासम्मको वित्तीय विवरणले बजारको सुस्त अवस्थाका कारण फण्डहरूको प्रदर्शनमा प्रतिकूल असर परेको देखाएको हो ।

हाल सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले पुस महिनासम्म कुल २ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन मंसिर महिनाको तुलनामा २६.४५ प्रतिशत कम हो । मंसिरमा यी फण्डहरूले ४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए । सबै फण्डको नाफा घट्नुले पुँजी बजारको कमजोर अवस्थालाई झल्काएको छ ।

नाफामा मात्र नभई न्याभ र शेयर बजारमा गरिने लगानीमा पनि गिरावट आएको देखिन्छ । लगानीकर्ताको आत्मविश्वास घट्दै जानु र बजारले लय समात्न नसक्नुले म्युचुअल फण्डको प्रदर्शनलाई प्रत्यक्ष असर गरेको छ । बजार स्थायित्वका लागि लगानीकर्ताहरूले दीर्घकालीन रणनीति अपनाउनुपर्ने सुझाव जानकारहरूले दिएका छन् । पुँजी बजारलाई पुनः सक्रिय बनाउने नीति तथा कार्यक्रमले मात्र म्युचुअल फण्डलगायत सम्पूर्ण पुँजी बजारको सुधार सम्भव हुने विश्लेषण भइरहेको छ ।

यसअवधिमा सञ्चालनमा रहेका ४३ वटै म्युचुअल फण्डको नाफा घटेको छ । नाफा घटेपनि सर्वाधिक नाफा आर्जन गर्ने फण्डका सानिमा इक्वाटी रहेको छ । कम्पनीले २० करोड ६६ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । यता, सिद्धार्थ इक्वाटी फण्डले १७८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ ।

एनआइबिएल सहभागिता फण्डको नाफा सर्वाधिक घटेको छ । फण्डको नाफा ७७.९१ प्रतिशत घटेर २८ करोड ८२ लाख रूपैयाँमा पुगेको हो ।

पुषसम्ममा ५ कम्पनीको नाफा ऋणात्मक रहेको छ । कुमारी सबल योजना १ करोड ३८ लाख, एनआइबिएल स्टेबल फण्ड २ करोड २६ लाख, सनराइज ब्लुचिप फण्ड २ करोड ७५ लाख, मेगा म्युचुअल फण्ड १ ६ करोड ४८ लाख र एनआईबिल समृद्धि फण्ड २१ करोड २७ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेका छन् ।

शेयर बजारमा लगानीको आकार समेत घट्योे

पुँजी बजारमा देखिएको मन्दीका कारण अधिकांश म्युचुअल फण्डहरूले आफ्नो पनि लगानी घटाएका छन् । पुस महिनासम्म ४३ म्युचुअल फण्डहरूको कुल लगानी ३९ अर्ब ५५ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । यसअवधिमा ३५ फण्डले शेयर बजारमा लगानी घटाएका छन् । मंसिरमा फण्डहरूको बजारमा लगानी ४० अर्ब ३ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

पुस महिनामा एनआइसी एशिया डायनामिक डेप्ट फण्डले लगानी ३०.०३ प्रतिशतले बढाएर ३४ करोड ४९ लाख, एनआईबिएल सहभागिता फण्डले १५.७७ प्रतिशतले बढाएर ३ अर्ब ८६ करोड ८४ लाख, एनआइबिएल स्टेबल फण्डले ५.६१ प्रतिशतले बढाएर ९० करोड ४९ लाख, एनआइसी एशिया ग्रोथ फण्ड २ को ४.९३ प्रतशितले बढेर ७२ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

सिटिजन्स म्युचुअल फण्ड–१ ले शेयर बजार लगानी सर्वाधिक घटाएको छ । फण्डले आफ्नो लगानी २४.८८ प्रतिशतले घटाउँदै १७ करोड २६ लाख रुपैयाँमा सीमित गरेको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २ को लगानी पनि १०.३४ प्रतिशतले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

फण्डहरूको न्याभमा कस्तो ?

पुस महिनामा म्युचुअल फण्डहरूको औसत खुद सम्पत्ति मूल्य (न्याभ) ०.२५ प्रतिशतले घटेको छ । पुस मसान्तसम्म औसत न्याभ १० रुपैयाँ ९७ पैसा रहेको छ, जुन मंसिरको ११ रुपैयाँ २२ पैसाको तुलनामा कम हो । बजारमा निरन्तर देखिएको सुस्तताका कारण सबै फण्डहरूको न्याभ घटेको देखिन्छ ।

हाल अधिकांश फण्डहरूको न्याभ १० रुपैयाँभन्दा माथि रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को पुसमा घटेर १२ रुपैयाँ १८ पैसा कायम भएको छ। उक्त फण्डको न्याभ सर्वाधिक घटेको हो ।

प्रभु स्मार्ट फण्डको न्याभ पनि १२ रुपैयाँ १ पैसामा सीमित भएको छ । हाल २० वटा म्युचुअल फण्डहरूको न्याभ ११ रुपैयाँभन्दा माथि रहेको छ भने १९ फण्डको न्याभ १० रुपैयाँभन्दा माथि छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*