अमेरिकाको वाशिङ्टन डीसीमा ६४ जना सवार यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोक्किए

काठमाडौँ । अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ ।
स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो । चालकदलका चार र यात्रु ६० जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो।
उक्त घटनामा कति जना हताहत भए भन्ने जानकारी उपलब्ध छैन। विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान आरम्भ भएको छ। एफएएले विमान रेगन वाशिङ्टन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको सीबीएस न्यूजलाई दिएको एउटा वक्तव्यमा जनाएको छ।
अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। वाशिङ्टन डीसीमा रात्रिकालीन तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
तस्विरः हिन्दुस्थान टाइम्स