आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

१७ माघ २०८१, बिहीबार ०६:२१

काठमाडौं । नेपालका तामाङ समुदायले आज आफ्नो प्रमुख पर्व सोनाम ल्होसार हर्षोल्लासका साथ मनाउँदैछन्। चन्द्र पात्रोअनुसार माघ शुक्ल प्रतिपदाका दिन पर्ने यो पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा विशेष सांस्कृतिक एवं धार्मिक महत्वका साथ मनाइन्छ।

यस दिन तामाङ समुदायले घर–आँगन सफा गर्ने, बुद्ध मन्दिर तथा गुम्बाहरूमा पूजाआजा गर्ने, ध्वजापताका टाँग्ने तथा परम्परागत पोशाकमा सजिएर नृत्य–गान गर्ने चलन छ। काठमाडौंको टुँडिखेल लगायत देशका विभिन्न स्थानहरूमा सांस्कृतिक झाँकी, परम्परागत नृत्य, तामाङ सेलो गीत तथा सामूहिक भोजको आयोजना गरेर यो पर्व मनाइँने गरिन्छ।

यस पर्वमा तामाङ समुदायका बाह्र वर्गीय वर्षहरूको चक्रअनुसार नयाँ ल्हो (वर्ष) सुरु हुने विश्वास गरिन्छ। यस वर्ष सर्प वर्गको वर्ष प्रवेश गरेको मानिन्छ। नेपालबाहेक चीन, भुटान, भारत, म्यानमार, जापान, थाइल्यान्ड लगायतका मुलुकहरूमा पनि सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइन्छ।

यो पर्वको अवसर पारेर आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। यससँगै आज बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, सरकारी कार्यालय लगायत शेयर बजार बन्द रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*