युक्रेनसँग शान्ति वार्ता गर्न राष्ट्रपति पुटिन तयार, विश्व अर्थतन्त्र गुल्जार बन्ने नयाँ तरंग

१६ माघ २०८१, बुधबार २२:४०

काठमाडौं (एजेन्सीहरु) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको सन्देश प्रवाह गरेका छन् । अमेरिकी र युरोपहरुको उक्साहटमा नेको सदस्य बन्न खोजेपछि उत्पन्न भएको विवाद युद्धमा पुगेर आजको अवस्थामा पुगेको थियो ।

अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि युक्रेन युद्ध अन्त्य हुने विश्वास गरिएको छ । डोनाल्ड ट्रम्पले सबै प्रकारका विदेशी सहयोग बन्द गर्ने घोषणा गरेर युक्रेनमाथि शान्ति वार्ताको लागि बाध्यकारी वातावरण सिर्जना गरिरहेको सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनले पनि युक्रेनसँग शान्ति वार्ताको लागि तयार रहेको सन्देश दिएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीको पदावधी सकिनै लागेको र राष्ट्रपतिको कार्यभार संसदका अध्यक्षमा रुपान्तरण हुने व्यवस्था रहेको रसियाली सञ्चार माध्यम स्पुतनिकले जनाएको छ ।

रसियाली राष्ट्रपति पुटिनले एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै युक्रेनसँग शान्ति वार्ताको लागि रसिया तयार रहेको जनाउँदै आवश्यक परेमा तत्कालै वार्ता टोली समेत बनाउने स्पष्ट पारेका छन् । राष्ट्रपति पुटिनले जेलेनेस्कीको पदावधी सकिएकोले कुनै पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने अधिकार नभएको स्पष्ट पार्दै रसियाको तर्फबाट वार्ता टोलीले नै शान्ति सम्झौता गर्ने अधिकार दिइने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रसिया युक्रेन युद्ध छिट्टै अन्त्य गर्न काम गरिरहेको गत साता बताएका थिए । साथै उनले युक्रेनलाई युद्ध अन्त्यको लागि बाध्य हुने वातावरण सिर्जना गरिरहेका छन् । जसले रसिया–युक्रेनबीचको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न सक्नेछ ।

रसियाका राष्ट्रपति पुटिनको अन्तर्वार्तासँगै शान्ति प्रक्रिया छिट्टै सुरु हुने विश्वास गरिएको छ । रसिया–युक्रेन युद्धका कारण युरोपमा चर्को आर्थिक मार परिरहेको छ । आर्थिक संकटको चर्को प्रभावमा युरोपहरु परेपछि विश्व अर्थतन्त्रमा संकुचन आइरहेको छ । नेपालीहरु धेरै भएको युरोप र एसियाको खाडी तथा मलेसिया समेत आर्थिक मन्दीमा परेका कारण नेपाल समेत विश्व आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव परिरहेको छ ।

यसअघि मध्यपूर्वको इजरायल प्यालेस्टाइन युद्ध अस्थायी रुपमा रोकिएको अवस्था छ । सोही अवधीमा रसिया युक्रेन युद्ध समेत अन्त्य हुने भएपछि विश्व अर्थतन्त्रमा नयाँ आशाको तरंग फैलिन पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*