लघुवित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणका लागि नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुष २३ गते लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गर्दै लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक हित संरक्षणका लागि आवश्यक व्यवस्थाहरू लागू गर्न निर्देशन दिएको छ। नयाँ व्यवस्थाले वित्तीय सेवाको पारदर्शिता र ऋणीको संरक्षणलाई प्राथमिकता दिएको छ।
मार्गदर्शनअनुसार लघुवित्त संस्थाहरूले कर्जासम्बन्धी प्रोडक्ट पेपर अनिवार्य रूपमा नेपाली भाषामा तथा आवश्यकताअनुसार स्थानीय भाषामा समेत उपलब्ध गराउनुपर्नेछ। यसमा ब्याजदर, सेवा शुल्क, कर्जाको भुक्तानी अवधि, तथा कर्जाका सर्तहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने प्रावधान गरिएको छ।
ऋण भुक्तानीमा समस्यामा परेका ऋणीहरूको पहिचान गरी उनीहरूको पुनरूत्थानका लागि कार्यविधि तयार गर्ने तथा प्रणालीको विकास गर्न लघुवित्त संस्थाहरूलाई निर्देशन दिइएको छ। साथै, ऋणी तथा सदस्यहरूलाई पूर्ण विवरण सहितको तमसुकमा मात्र हस्ताक्षर गराउने व्यवस्था अनिवार्य गरिएको छ। कुनै पनि अवस्थामा खाली कागजातमा हस्ताक्षर गराउन नपाइने प्रष्ट निर्देश गरिएको छ।
कर्जा प्रवाह गर्दा स्वीकृत रकमबाट तोकिएको सेवाशुल्क बाहेक अन्य रकम कट्टा गरी बचतको रूपमा राख्न पनि नपाइने व्यवस्था गरिएको छ। वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाको पहलमा यो निर्देशिका ल्याइएको हो। गुनासो दर्ता गर्न अनलाइन पोर्टल तथा वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।