प्रधानमन्त्री ओलीले भने ‘स्टन्टबाजीबाट देश चल्दैन, इमान्दारी र कर्तव्य जरुरी’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजका हरेक क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै ‘स्टन्टबाजी’बाट देश चल्न नसक्ने बताएका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै उनले इमानदारी र कर्तव्य निर्वाहमार्फत देशलाई भद्रगोल र विपन्नताबाट मुक्त गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले लोकतन्त्र ल्याउन राजनीतिक दल र जनताको महत्वपूर्ण भूमिका रहेको बताउँदै अब शान्ति, सुशासन र समृद्धि कायम गर्न सबैले कटिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे। उनले संसद्ले जनताको प्रतिनिधित्व गर्दै न्यायपूर्ण कानुन बनाउनु आवश्यक रहेको र सरकार पनि कानुन पालना गर्न प्रतिबद्ध हुनुपर्ने बताए।
“संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ र सम्बन्धित निकायहरूले त्यसअनुसार काम गर्नुपर्छ,” उनले भने, “देशप्रति इमानदार भएर सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियानमा सरकार कटिबद्ध छ। यो कार्यमा कानुन व्यवसायीहरूको सक्रिय सहयोग आवश्यक छ।”
प्रधानमन्त्री ओलीले युवा कानुन व्यवसायीहरूको समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै कम पारिश्रमिक पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले सरकार कानुन व्यवसायी र युवाहरूको साथमा रहेको प्रस्ट पार्दै कानुन निर्माणलगायतका क्षेत्रमा उचित ध्यान दिने आश्वासन दिए। कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो।