सिटिजन र शिखरको लगानी रहेको श्रीनगर एग्रिटेकको प्रिमियम आइपीओको योजना, वित्तीय सूचक मजबूद
काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासनको तयारी गरी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पछिल्ला आर्थिक वर्षहरूमा वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको छ । कम्पनीको सञ्चालन आय र अन्य वित्तीय सूचकहरू सकारात्मक देखिएको हो ।
कम्पनीले सन् २०२१ मा ६६ करोड ८० लाख रुपैयाँको सञ्चालन आय हासिल गरेकोमा सन् २०२२ मा ७८ करोड ५० लाख रुपैयाँ पुगेको थियो । सन् २०२३ यो वृद्धि ८० करोड ८० लाख रुपैयाँसम्म पुगेको छ भने सन् २०२३ मा १० करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले सञ्चालन नाफा (ओपीबिडिटा) प्रतिशत पनि सुधार गर्दै लगेको छ । सन् २०२१ मा ९.५ प्रतिशत रहेको ओपीबिडिटा सन् २०२४सम्ममा १३.३ प्रतिशतसम्म पुगेको छ । कम्पनीको कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपातमा गिरावट आएको छ । सन् २०२१ मा यो अनुपात ३.३ गुणा रहेकोमा सन् २०२४ मा घटेर १.१ गुणामा पुगेको छ । कुल बाह्य दायित्व र मूर्त सम्पत्तिको अनुपात सन् २०२३ मा २.६ गुणा रहेकोमा यो अनुपात सन् २०२४ मा घटेर १.३ गुणामा झरेको छ ।
सन् २०२१ मा कम्पनीको चालु अनुपात १.१ रहेकोमा सन् २०२४ मा यो २.३ गुणा पुगेको छ । कार्यशील पूँजीको अनुपातमा सुधार गर्दै कम्पनीले सन् २०२४ मा ८४ प्रतिशत कायम गरेको छ ।
२०७० सालमा स्थापना भई २०८० सालमा सार्वजनिक लिमिटेड कम्पनीको रूपमा रूपान्तरण भएको श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले नेपालको कृषि र पशुपालन क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ । कम्पनीले कुखुरा, गाईभैंसी तथा जलाशय किसान/उद्यमीहरूका लागि आहार उत्पादन गर्दै देशभर आपूर्ति गर्दै आएको छ । कम्पनीले म्यास, पेलेट र एक्स्ट्रुडेड गरी तीन प्रकारका आहार उत्पादन गर्दछ । ‘सुनौलो’ ब्रान्ड नामबाट कुखुरा र गाईभैंसी आहार आपूर्ति गरिन्छ भने ‘हिमदाना’ ब्रान्ड नामबाट माछा आहार बजारमा उपलब्ध गराइन्छ । हाल कम्पनीको रुपन्देहीस्थित उत्पादन इकाइबाट वार्षिक १ लाख ३५ हजार ७८० मेट्रिक टन उत्पादन क्षमता रहेको छ ।
कम्पनीले समूहको पोल्ट्री इकाइ अधिग्रहण र मासु प्रशोधन इकाइको हालै सम्पन्न कार्यसँगै आफ्नो व्यवसाय विविधिकरण गर्न सफल भएको छ । कम्पनीका प्रमुख प्रवद्र्धकहरूमा सतिश चन्द्र श्रेष्ठ (३४ प्रतिशत स्वामित्व), चन्द्र पंकज डेभलपर्स प्रालि (१२ प्रतिशत), शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (८ प्रतिशत) र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (४ प्रतिशत) रहेका छन् । बाँकी स्वामित्व भने ८३० व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरूको रहेको छ ।
इक्रा नेपालले कम्पनीको जारीकर्ता रेटिङलाई आइसीआरए एनपी–आईआर बी मा उकासेको छ । यसअघि यो रेटिङ आइसीआरए एनपी–आईआर बीइनस मा रहेको थियो यो रेटिङले वित्तीय दायित्वको समयमा सेवा प्रदान गर्ने क्षमतालाई चुनौतीपूर्ण भए पनि सुधारतर्फ रहेको संकेत गर्दछ । कम्पनीले सन् २००४ देखि मुख्यतः पेलेट दाना उत्पादन गर्दै आएको छ । २०२३ अगस्टमा कम्पनीले आफ्नो सहायक संस्था श्रीनगर एग्रो फार्म (एसएएफ)को अधिग्रहण गर्दै कुखुरा पालन क्षेत्रमा प्रवेश गरेको थियो ।
हालै कम्पनीले कुखुराको मासु प्रशोधन इकाइ सञ्चालनमा ल्याएको छ । यसले कम्पनीको व्यवसायिक विविधता बढाउनुका साथै राजस्व वृद्धिको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले आइपीओ प्रस्तावका लागि विशेष साधारण सभा डाकेको छ, जसको आयोजना माघ ३० गते बुटवल स्थित होटल डेनेभोमा बिहान साढे १० बजेदेखि गरिनेछ। सो सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धिका लागि प्रस्ताव पारित गर्ने, यी वृद्धिलाई समावेश गरी कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, र पूँजीको संरचना परिवर्तनसँगै सर्वसाधारणमा जारी गरिने भनी छुट्याइएको सेयरलाई प्रिमियम वा अंकित मुल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।