महाकुंम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
काठमाडौँ । भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ।
उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए। बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो।
त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबर द हिन्दुस्तान टाइम्सले जनाएको छ।
घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ। त्यहाँ उपस्थित भक्तजनहरूले प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण त्यस्तो घटना भएको आरोप लगाएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले यूपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्। मुख्यमन्त्री आदित्यनाथले अफवाहको पछि नलाग्न शान्त रहन सबैलाई आग्रह गरेका छन्।