कियाका गाडी गुणस्तरहीन भएको पुष्टी, दुर्घटना जोखिम रहेका ८० हजार सवारी बोलायो फिर्ता

१५ माघ २०८१, मंगलवार १७:११

काठमाडौँ । दक्षिण कोरियाली अटोमोबाइल निर्माता किया मोटर्सले उत्पादन गरेको नीरो ईभीमा गम्भीर समस्या रहेको तथ्य बाहिर आएको छ । विश्व बजारमा लोकप्रिय किया ब्रान्डका गाडी गुणस्तरहीन रहेको किया मोटर्स स्वीकार गरेको हो ।

दुर्घटना जोखिम रहेका ८० हजारभन्दा बढी गाडी किया मोटर्सले फिर्ता बोलाएको हो । गाडीको सिट तलको तारमा गम्भीर समस्या देखिएको छ जसले एयरब्याग र सिटबेल्ट जस्ता महत्त्वपूर्ण सुरक्षा फिचरहरूको काम गर्न नसक्ने खतरा रहेको छ । जसले गर्दा दुर्घटना जोखिम रहेको छ ।  सन् २०२२ देखि २०२४ मोडेल वर्षभित्र उत्पादन भएका नीरो ईभी, नीरो हाइब्रिड र नीरो प्लग–इन हाइब्रिड एसयूभीमा समस्या देखिएको छ ।

कोरियाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले जारी गरेको प्रतिवेदनअनुसार यी गाडीहरूको अगाडि रहेको म्यानुअल रूपमा सञ्चालन हुने सिटको तार जथाभावी चलाउँदा क्षतिग्रस्त हुन सक्ने जनाएको छ । यसले दुर्घटनाको अवस्थामा एयरब्याग र सिटबेल्ट प्रिटेन्सनरको उचित कार्यान्वयनमा बाधा पु-याउन देखिएको हो ।

कम्पनीले सम्भावित समस्या रहेको सवारी साधनमा ‘इन्भर्टेन्ट एयरब्याग डिप्लोइमेन्ट’ अर्थात् अनायास एयरब्याग फुक्न सक्ने जोखिम पनि रहेको जनाएको छ । यसले यात्रुलाई गम्भीर चोट पु-याउने सम्भावना रहेको छ ।

२०२२ अगस्ट १० देखि २०२४ डिसेम्बर १३ बीच निर्माण भएका २१ हजार ९०९ नीरो ईभी, २०२२ जुन २१ देखि २०२४ डिसेम्बर १७ बीच निर्माण भएका ४९ हजार ५३५ नीरो हाइब्रिड र २०२२ जुलाई ११ देखि २०२४ डिसेम्बर १६ बीच निर्माण भएका ८ हजार ८११ नीरो प्लग–इन हाइब्रिड फिर्ता बोलाइएको छ ।

कम्पनीको त्रृटि भर्खरै सार्वजनिक भएपनि उक्त लापरबाहीले कति जनाले ज्यान गुमाए प्रश्न उठ्न थालेको छ । यो त्रुटि किया ब्रान्डका अन्य गाडीहरूमा समेत देखिन सक्ने जोखिम रहेको विशेषज्ञहरूले बताएका छन्। महँगो मूल्यमा बिक्री हुने कियाका गाडीहरूमा कम्पनीले सुरक्षा प्रणालीमा कमजोरी देखाएकोले ग्राहकहरूको विश्वास गुम्ने र यसको व्यापारमा नकारात्मक प्रभाव पर्ने निश्चित देखिन्छ।

किया मोटर्सको यो अहिलेसम्मकै ठूलो फिर्ता हो । यसअघि किया मोटर्सकै भगिनी ब्रान्ड हुन्डाईले रियरभ्यु क्यामेरामा समस्या देखिएपछि २ लाखभन्दा बढी सवारी फिर्ता बोलाएको थियो । त्यसैगरी हुन्डाई, किया र जेनेसिस ब्रान्डका २ लाखभन्दा बढी विद्युतीय गाडीहरूमा चार्जिङ कन्ट्रोल युनिटको फ्यूज फेल हुने समस्याका कारण पनि ठूलो मात्रामा फिर्ता बोलाइएको थियो ।

कियाको निरो ईभी नेपाली बजारमा ७० लाख रुपैयाँका वितरण वितरण हुँदै आइरहेको गाडि हो । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*