अध्यादेशलाई ‘फास्ट ट्रयाक’बाट पारित गर्ने सरकारको निर्णय
![](https://www.beemapost.com/wp-content/uploads/2024/07/Mantriparisaad.jpg)
काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेशलाई ‘फास्ट ट्रयाक’ प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ १८ गतेदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा अध्यादेशलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकको निर्णयबारे जानकारी दिँदै भने, “राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भइसकेको छ। उक्त अध्यादेश कार्यान्वयनका लागि नियमावली निर्माणको निर्णय बैठकले गरेको छ।”
मन्त्री गुरुङले आवश्यकताका आधारमा अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै सुशासन प्रवर्द्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरिएको स्पष्ट पारे।
उनले संसदले नियमित प्रक्रियामा समय लाग्ने अवस्थामा ‘फास्ट ट्रयाक’बाट महत्त्वपूर्ण विषय पारित गर्न सरकार प्रतिबद्ध रहेको बताए। आगामी अधिवेशनमा सरकारले प्रस्तुत गर्ने विधेयकहरूमाथि सांसदहरूबाट विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।