ताप्लेजुङमा प्रहरी दमन राेकिएन, माेर्चाका नेता पक्राउ

१५ माघ २०८१, मंगलवार १३:१०

काठमाडौँ । पाथीभरा केवलकार निर्माणको विरोधमा जारी आन्दोलनमा प्रहरीले दमन जारी राख्दै आएको छ। आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गर्नुका साथै आन्दोलनका मुख्य नेताहरूलाई पक्राउ गर्न थालेको हो ।

मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा बन्द गराउँदै हिँडिरहेका पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ। मादेन पाथीभरा केवलकारको विरोधमा चलेको आन्दोलनका मुख्य नेतृत्वकर्ता मानिन्छन्।

सोमबार पाथीभरा क्षेत्रको बलुडाँडामा केवलकार परियोजनाको विरोधमा पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो। सो क्रममा प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो। झडपमा तीन गम्भीर घाइते भएका थिए।

प्रहरी दमनको विरोध गर्दै आन्दोलनकारीहरूले ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालीन बन्द घोषणा गरेका छन्। आन्दोलनकारीले केवलकार परियोजना धार्मिक क्षेत्रको पहिचान तथा पर्यावरणमा नकारात्मक असर पार्ने भन्दै यसको निर्माण स्थगित गर्न माग गरिरहेका छन्।

सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन सक्रिय रहेको भए पनि दुवै पक्षबीचको विवादले ताप्लेजुङको अवस्था तनावपूर्ण बनेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*