वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्बः शीर्षस्थानमा ग्लोबल र नबिल, एनआईसीको घट्यो

१५ माघ २०८१, मंगलवार १३:३१

काठमाडौँ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको कुल निक्षेप १०.४५ प्रतिशतले बढेको छ । नेपाल बैंकर्स संघद्वारा सार्वजनिक तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा भने बैंकहरुको निक्षेप संकलन ५४ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो । एनआईसी एशिया बैंकबाहेक अन्य बैंकहरुको निक्षेप संकलन बढेको छ ।

सर्वाधिक निक्षेप संकलन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक नम्बर वान रहेको छ । बैंकले ५ खर्ब ३४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३.८८ प्रतिशतले बढी हो ।

नबिल बैंक सर्वाधिक निक्षेप संकलन गर्ने बैंकको दोस्रो नम्बरमा रहेको छ । बैंकको निक्षेप संकलन १२.७५ प्रतिशतले बढेर ४ खर्ब ८९ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

रकम अर्बमा

यता, निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक आक्रामक बनेको छ । बैंकले निक्षेप संकलन ३२.५८ प्रतिशतले बढाउँदै ४ खर्ब ४६ अर्ब ८२ करोड रुपैयाँमा पुराएको छ । सर्वाधिक निक्षेप संकलन गर्नेमा बैंक तेस्रो स्थानमा रहदा वृद्धिमा भने पहिलो नम्बरमा रहेको हो ।

यता, चालु आर्थिक वर्षको पुषमसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप संकलन ४ खर्ब ४५ करोड, कुमारी बैंकको ३ खर्ब ६६ अर्ब, लक्ष्मी सनराइज बैंकको ३ खर्ब ४५ अर्ब, एनआईसी एशिया बैंकको ३ खर्ब १३ अर्ब, प्रभु बैंकको ३ खर्ब ९ अर्र्ब, नेपाल बैंकको ३ खर्ब ७ अर्ब, हिमालयन बैंकको ३ खर्ब ४ अर्ब, एभरेष्ट बैंकको २ खर्ब ५३ अर्ब, कृषि विकास बैंकको २ खर्ब ५१ अर्ब र एनएमबि बेंकको २ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ ।

साथै, सिद्धार्थ बैंकको २ खर्ब ४७ अर्ब, प्राइम बैंकको २ खर्ब ३५ अर्ब, सानिमा बैंकको २ खर्ब ९ अर्ब, नेपाल एसबिआई बैंकको १ खर्ब ९९ अर्ब, सिटिजन बैंकको १ खर्ब ९७ अर्ब, माछापुच्छ्रे बैंकको १ खर्ब ६७ अर्ब र स्टान्डर्ड चार्टड बैंकको १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*