आजसम्म कायम शेयरधनीले नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको २५ प्रतिशत हकप्रद शेयरमा आज (माघ १५ गते) सम्म कायम शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्।
हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्दैछ। भोलि र पर्सी क्रमशः सहिद दिवस र सोनम ल्होसार परेकाले नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्से बन्द रहन्छ। यसर्थ कम्पनीको हकप्रदमा आवेदन दिन आजसम्म शेयरधनी बनिसक्नु पर्नेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कम्पनीले १ः०.२५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। यसबाट ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ संकलन हुनेछ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम हुनुपर्ने निर्देशन दिएको छ। कम्पनीले सोही दरमा चुक्ता पूँजी कायम गर्न हकप्रद निष्कासन गर्न लागेको हो। हकप्रद बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।