सुर्यज्योति लाइफबिरुद्ध उच्च अदालत पाटनको आदेश, बीमितलाई ठगी गर्ने कम्पनीबाट न्याय पाएः खड्का

१४ माघ २०८१, सोमबार १६:२०

काठमाडौं । बीमा गरेकै अवस्थामा गम्भिर रोग लागी ओछ्यानमा परेका भक्तपुरका अंगद खड्कालाई दावी नदिई उल्टै मुद्दा मामिला गरेर मानसिक यातनासहितका दुःख दिने सुर्यज्योति लाइफका विरुद्धमा पाटन उच्च अदालतले आज आदेश जारी गरेको छ ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले बिरामी अवस्थाका बीमित अंगद खड्कालाई १० लाख रुपैयाँ दावी भुक्तानी तिर्न आदेश दिएको हो । आजको इजलाशले दावी भुक्तानी तिर्न आदेश दिएसँगै सुर्यज्योति लाइफले भक्तपुरका अंगद खड्कालाई १० लाख भन्दा बढि रकम भुक्तानी गर्नुपर्नेछ ।

सुर्यज्योति लाइफले भक्तपुरका अंगद खड्कालाई तीन वर्षदेखि दावी भुक्तानी नदिई दुःख दिँदै आएको थियो । साथै मुद्दा समेत लगाएर थप दुःख दिएको थियो । एजेन्टले भने अनुसार बीमा गरेका खड्काले सुर्यज्योति लाइफमा बीमा गराउँदा जीवनकै अप्ठेरो र दुःखदायी अवस्थामा पनि कम्पनीबाट मुद्दा मामिला खेपेर थप सास्ती र हैरानी भोग्दै आएका थिए ।

नियामक नेपाल बीमा प्राधिकरणले २०८० असोज ८ गते फैसला गर्दै सुर्यज्योति लाइफमा बीमा गरेका भक्तपुरका अंगद खड्कालाई दावी भुक्तानी पाउनुपर्ने ठहर गरेको थियो । बीमाको सिद्धान्त बिपरित चलेको सुर्यज्योति लाइफले बीमितलाई ठगी गर्ने तथा दुःख दिने उद्देश्यले रिसइवी साँधेर खड्कालाई दुःख दिँदै आएको पीडित खड्काको भनाई छ । बीमा प्राधिकरणको फैसला समेत अस्वीकार गर्दै उल्टै घातक रोग लागेर ओछ्यानमा परेका बीमितका विरुद्धमा मुद्दा लिएर उच्च अदालत पाटनमा पुगेको सुर्यज्योति लाइफको मुद्दामाथि आज सुनुवाई भएको थियो । सो मुद्दामाथि अन्तिम फैसला भएसँगै अब बीमित अंगद खड्काले न्याय पाउने भएका छन् ।

सुर्यज्योति लाइफले घातक रोगबाट ग्रसित बीमित खड्काका विरुद्धमा २०८०।०९।१८ मा उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । सो मुद्दाको अन्तिम किनारा लागेसँगै कम्पनीले कम्तीमा १० लाख रुपैयाँमा ब्याज समेत थपेर भुक्तानी गर्नुपर्ने भएको छ ।

उता, उच्च अदालत पाटनबाट मुद्दा जितेपछि खुशी व्यक्त गर्दै अंगद खड्काले बीमापोष्टसँग भने, ‘सबैभन्दा ठग कम्पनीको फन्दामा परेको थिए, आज बल्लतल्ल न्याय पाएँ । तीन वर्षसम्म असाध्यै दुःख पाएको थिएँ आज न्याय पाएको छु । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गर्नुपहिले मेरो काण्ड राम्रोसँग बुझेर मात्रै बीमा गर्न अनुरोध गर्दछु ।’

खड्काले कम्पनीले अनावश्यक दुःख दिएर बीमितलाई हैरानी पारेको दुःखेसो पोख्दै आम बीमितहरु सचेत हुन आग्रह गरेका छन् ।

One thought on “सुर्यज्योति लाइफबिरुद्ध उच्च अदालत पाटनको आदेश, बीमितलाई ठगी गर्ने कम्पनीबाट न्याय पाएः खड्का

  1. Satyendra Pandey says:

    LIC Nepal number one h

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*