चेम्बर एक्स्पो: आईटी र एआई प्रवर्द्धन, विदेशी व्यवसायीबीच सहकार्यको अवसरः अध्यक्ष अग्रवाल

१४ माघ २०८१, सोमबार १४:३३

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले ८औं नेपाल चेम्बर एक्स्पो २०२५ ले एआई र सफ्टवेयर क्षेत्रमा अध्ययन र अनुसन्धानलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

सोमबार नेपाल चेम्बर अफ कमर्सको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले एक्स्पोको तयारीबारे जानकारी गराउँदै यसपटक विदेशी कम्पनीहरू पनि सहभागी हुने जनाए। उनले भने, ‘विदेशी कम्पनीहरूले पनि एक्स्पोमा स्टल राख्नेछन्। यसले उनीहरूलाई नेपाली उत्पादनहरू अवलोकन र अध्ययन गर्न अवसर प्रदान गर्नेछ, जसबाट नेपाली उत्पादनलाई निर्यात गर्न सहयोग पुग्नेछ।’

अग्रवालले नेपालमा उत्पादन हुने सामग्रीहरूको जानकारी र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे। ‘हामीले अर्बौं रुपैयाँका सामग्री उत्पादन गर्छौं। तर, आम नागरिकलाई पनि आफ्नो देशमा के उत्पादन हुन्छ भन्ने थाहा छैन। एक्स्पोले यो जानकारी दिनुका साथै उत्पादीत वस्तुहरूको प्रचार(प्रसारमा सहयोग पुर्‍याउनेछ’ उनले थपे।

एक्स्पोले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई विशेष प्राथमिकता दिने जनाउँदै अध्यक्ष अग्रवालले यो क्षेत्र नेपालको आर्थिक प्रगतिको महत्वपूर्ण आधार बन्न सक्ने बताए। ‘नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना छ। यस एक्स्पोले यस क्षेत्रलाई अझ अगाडि बढाउन मद्दत गर्नेछ’ उनले भने।

अग्रवालका अनुसार, एक्स्पोले नेपाली र विदेशी व्यवसायीहरूबीच सहकार्यको अवसर सिर्जना गर्नेछ। विदेशी कम्पनीहरूले स्टल राखेपछि उनीहरूले नेपाली उत्पादनहरूको गुणस्तर र विविधतालाई नजिकबाट बुझ्ने र निर्यात प्रवर्द्धनका लागि नयाँ बाटो खोल्ने विश्वास लिइएको छ।

नेपाल चेम्बर एक्स्पो २०२५ आगामी महिनामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*