आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि चेम्बर एक्स्पो महत्वपुर्णः राजेन्द्र मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि यस वर्षको नेपाल चेम्बर एक्स्पो २०२५ ले ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
सोमबार नेपाल चेम्बर अफ कमर्सको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले ८औं नेपाल चेम्बर एक्स्पो २०२५ को विशेषताबारे जानकारी गराउँदै सफ्टवेयर तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पहललाई विशेष प्राथमिकता दिइने बताए।
उनले भने, ‘यस वर्षको एक्स्पोले नेपालमा निर्माण भएका सामग्रीलाई प्रवर्द्धन गर्ने र विदेशी लगानीकर्ताहरूसँग साझेदारीको वातावरण सिर्जना गर्ने उद्देश्य राखेको छ। नेपाली उत्पादनहरू जस्तै हस्तकला, कृषि उत्पादन र प्रविधि क्षेत्रका नयाँ आविष्कारहरू प्रदर्शनीमा राखिनेछ।’
मल्लका अनुसार यस एक्स्पोले नेपाली उत्पादनहरूको निर्यात प्रवर्द्धनमा सहयोग पुर्याउनेछ। साथै, विदेशी कम्पनीहरूले पनि नेपाली उत्पादनमा चासो राख्दै एक्स्पोमा सहभागी हुने अपेक्षा गरिएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ।