नेप्सेको पुनर्संरचना गर्ने र नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने प्रकृया अघि बढाईदै

१३ माघ २०८१, आईतवार २०:०२

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने तरखर सुरु गरेको छ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना गर्ने र नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को ५ पुसको निर्णय अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्ड पुगेपछि यसको प्रक्रिया अगाडि बढेको हो ।

अर्थ मन्त्रालय स्रोत अनुसार यसअघि आवेदन दिएकामध्ये एउटा कम्पनीलाई छनोट गर्ने गरी प्रक्रिया अगाडि बढ्ने भएको हो । ‘मंगलबार धितोपत्र बोर्ड बैठक बस्दैछ, बोर्डले पुरानै प्रक्रिया अघि बढ्ने गरी निर्णय गर्ने तयारी भएको बुझिएको छ ।

यसअघि बोर्डमा नयाँ स्टक एक्स्चेन्जका लागि हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएका छन् ।

नयाँ स्टक एक्स्चेन्जका लागि प्राप्त निवेदन र विस्तृत कार्यायोजना मूल्यांकन गर्न यसअघि नै एक समिति गठन भएको छ । सोही समितिले विस्तृत कार्ययोजना मूल्यांकन गर्ने काम गरेको थियो ।

समितिले मूल्यांकन गर्ने क्रममै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले २६ वैशाख २०८० मा तत्कालका लागि प्रक्रिया रोक्न निर्देशन दिएपछि रोकिएको थियो ।

संसदको अर्थ समितिले पनि २९ जेठ २०८० मा स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया समितिबाट विस्तृत अध्ययन पूरा नहुँदासम्म रोक्न अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दियो ।

त्यसको पाँच महिनापछि २४ कात्तिकमा समितिले लाइसेन्स प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको थियो ।

त्यसपछि बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले पुनः मूल्यांकन समिति गठन गरी लाइसेन्स प्रक्रिया अघि बढाउन प्रयास गरेकोमा मन्त्रिपरिषद्को यसअघिको निर्णय परिवर्तन नभएकाले अघि बढ्न सकेको थिएन ।

गत ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने तथा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पुनर्संरचना गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पत्र धितोपत्र बोर्डलाई प्राप्त भएसँगै पुरानै प्रक्रिया फेरि अघि बढाउने तयारी भएको हो ।

आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जमा उद्योगी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, उद्योगी पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सतिशलाल मोर, विवेक दुगड, सौरभ ज्योति लगायतको लगानी छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ ।

त्यस्तै नेसनल स्टक एक्स्चेन्जमा गैरआवासीय नेपाली उपेन्द्र महतो, जिवा लामिछाने, कुल आचार्य, बद्री केसी तथा उद्योगी मनोज केडिया लगायतको लगानी छ ।

उता अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेतीलाई सञ्चालकका रूपमा प्रस्ताव गरिएको छ ।

नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि धितोपत्र बोर्डले आवेदन माग्दा यी तीन कम्पनीको आवेदन परेको थियो । आवेदन परेपछि लाइसेन्सका लागि ‘चलखेल’ भएको भन्दै सर्वोच्च अदालतमा प्रक्रिया रोक्न माग गर्दै मुद्दा परेको थियो । यद्यपि, अदालतले लाइसेन्स प्रक्रिया रोक्नु नपर्ने भन्दै बाटो खुला गरिदिएको थियो । सो पश्चात् पुन नयाँ स्टक एक्सचेञ्ज अघि बढाउने तयारीमा बोर्ड लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*