अनुकूल वातावरणले राजस्व वृद्धि गर्न सक्छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यापारमैत्री वातावरणको विकास र आर्थिक गतिविधिको प्रवर्द्धनसँगै राजस्व संकलन स्वाभाविक रूपमा बढ्ने धारणा व्यक्त गरेका छन्।
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजस्व लक्ष्य तोक्नुभन्दा व्यापारिक सहजीकरणमा जोड दिन सरकारलाई आग्रह गरे। ढकालले व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न सकेमा उद्योग र व्यापार क्षेत्र दुवै सशक्त हुने बताए।
उनले वैध व्यापारलाई प्रवर्द्धन गर्दै अवैध व्यापारको नियन्त्रणका लागि दुईपक्षीय सम्झौताका माध्यमबाट डाटा आदानप्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। यसले भन्सार प्रक्रियामा देखिने समस्या समाधान गर्न मद्दत पुर्याउने उनको भनाइ छ।
ढकालले छिमेकी मुलुकसँगको खुला सिमाना र आयातमुखी राजस्व संरचनाले चोरी पैठारी र राजस्व जोखिम बढाएको उल्लेख गर्दै यसलाई नीतिगत उपायबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।