बीमा क्षेत्रले सम्पत्ति शुद्धीकरण निवारणमा जिम्मेवारीपूर्वक काम गर्नुपर्छः अध्यक्ष दहाल

१३ माघ २०८१, आईतवार १६:३०

काठमाडौँ । काठमाडौँ । बीमा क्षेत्रले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्वलाई आफ्नो दायित्व मानी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष मदन दहालले बताएका छन्। प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दहालले बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका हुन्।

बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको उनले उल्लेख गरे । अध्यक्ष दहालले बीमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम लगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी तथा उपनिर्देशक पदम प्रसाद सोडारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता रहेको थियो ।

‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*