गाउँदेखि सहरसम्म नक्कली नोटको बिगबिगी, ६ महिनामा ४२ जना पक्राउ
काठमाडौँ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरुको बिगबिगी निरन्तर बढ्दो क्रममा रहेको छ । दिनानुदिन राजधानी काठमाडौँसहितका विभिन्न स्थानबाट खोटा नोटहरू बरामद हुँदैछन्, जसले अर्थतन्त्रलाई सखाप पार्ने खतरा निम्त्याएको छ ।
नेपाल प्रहरीले समेत खोटा नोट नियन्त्रणमा ठुला-ठुला चुनौतीहरूको सामना गर्दै आइरहेको छ । यसले केवल अर्थतन्त्रलाई कमजोर बनाउने मात्र होइन, नेपाली मुद्रा विश्वासको संकटमा पार्दैछ । नक्कली नोटका कारण धेरै नागरिक ठगिन थालेका छन् । छिटो धनि बन्ने लालसामा कतिपय व्यक्तिहरूले यी खोटा नोटको कारोबार गरिरहेका छन् भने अन्यले नोट नचिनेर धोखाधडीको शिकार भइरहेका छन् ।
यसले आर्थिक अपराधिक गतिविधिहरूलाई बढावा दिइरहेको छ, जसको प्रतिकारका लागि सुरक्षाकर्मीहरू सक्रिय भई काम गरिरहेका छन् । प्रहरीका अनुसार भारतीय सीमावर्ती क्षेत्रका जिल्लामा नक्कली नोटको कारोबार बढेको र ठुलो गिरोह सक्रिय रहेको आशंका गरिएको छ । सिमान्तिक क्षेत्र र सीमावर्ती जिल्लामा नक्कली नोटको चलन बढ्दै गएको छ । व्यापारिक गतिविधिहरूमा जोखिमको कारण बनिरहेका यी खोटा नोटहरू व्यवसायिक अस्थिरता निम्त्याइरहेका छन् ।
अहिले ग्रामीण क्षेत्रका पसल र सर्वसाधारण नागरिकसम्म नक्कली नोट फैलिरहेको अवस्थामा सरकार र सुरक्षाकर्मीहरू अझ कडा निगरानीमा रहेका छन् । तर, मुख्य नाइके पक्राउ गर्ने भने गृहमन्त्रालय असफल भइरहेको छ । ग्रामिण क्षेत्रहरूमा नक्कली नोटको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । किराना पसल र अन्य व्यवसायिक स्थानहरूमा यसका थुप्रै उदाहरण पाइरहेका छन् । आम नागरिकलाई नक्कली नोटको बारेमा जानकारी नहुनु र असजिलो अवस्थामा पर्नु एक ठुलो समस्या बनेको छ ।
६ महिना लाखौं नक्कली नोट प्रहरी नियन्त्रणमा
चालु आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा १३ लाख ८५ हजार ९५० रुपैयाँ भन्दा बढी नक्कली नोट प्रहरीले बरामद गरेको छ । गत आर्थिक वर्ष २०८०।०८१ मा (१२ महिना) नेपाली रकम पाँच करोड ८ लाख ७३ हजार रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा डलर ५० दरको ८८ थान र युरो १० लाख दरको एक थान रकम समेत प्रहरीले समातेको छ । यसअवधिसम्ममा प्रहरीले ३० जना नेपाली पुरुष, ३ जना महिना र ९ जना विदशी पुरुष गरी जम्मा ४२ जना प्रक्राउ गरेका छन् । जसमध्य २४ जनालाई मुद्धा चलाइ सकिएको छ ।
नेपाल प्रहरी नक्कली नोट बजारमा आउन नदिनको लागि निकै सक्रिय प्रवक्ता दिनेश कुमार आचार्यले बताए । एक दुई ठाउँबाट नक्कली नोटको केश आउने बित्तिकै प्रहरीले थप सक्रिय भइ विभिन्न ठाउँमा छापा हान्नेदेखि अनुसन्धानलाई थप तिब्रता दिइ रहेको छ । पछिल्लो समय नक्कली नोट मात्र नभइ नक्कली पैसा बनाउन प्रयोग गरीने कागज, मिसेन देखि र विदेशी डलर समेत फेला पर्ने गरेको प्रहरीको भनाइ रहेको छ ।
निरिह गृहमन्त्रालय र राष्ट्र बैंक
नक्कली नोट संवेदशिल कुरा हो । बजार नक्कली नोटको बिगबिगि बढ्नु देशको अर्थतन्त्र नै धरापमा पर्ने संकेत हो । तर, गृहमन्त्रालय र नियामक निकाय नेपाल राष्ट्र बैंक यसमा चुक्दै आइरहेको छ । नक्कली नोट सम्बन्धी जति प्रहरीले अनुसन्धान गर्नुपर्ने हो त्यो भन्दा बढी नेपाल राष्ट्र बैंकले गर्नुपर्छ । तर, नक्कली नोटको कारोबार रोक्न नेपाल राष्ट्र बैंकको भुमिका अभिभावकीय देखिदैन ।
यता, राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल भने नेपाली रुपैयाँमा बलियो फिचर रहेको बताउँछन् । उनले भने, ‘हाम्रो विभिन्न नोटहरुमा अनेकौ किसिमका बलिया फिचिरहरु रहेका छन् । नेपाली रकममा रहेका सेक्युरिटी फिचरहरु अन्य देशको जस्तै तथा अझ प्रतिस्पर्धी रहेका छन् । यति हुँदाहुँदै समेत हामीले नक्कली नोटको कारोबार सुनी रहेका हुन्छौं ।’
केन्द्रीय बैंकले नक्कली नोट सम्बन्धी कारोबार बढ्न नदिन बैंकहरु मार्फत ग्रामिण भेगहरुमा जनचेतना मुलक कार्य गराउने र प्रहरी तथा सरकारसँग समन्वय गर्नुपर्दछ । तर, बैंकहरुको आफ्नो ब्यवसायी वृद्धिमा ब्यस्त भइरहेको बेला नक्कली नोट नियन्त्रणको भुमिका कस्को हुने मै अन्योल छ । प्रहरीले सूचनाका आधारमा मात्र नक्कली नोट सम्बन्धी छानबिन गरि रहेको हुन्छ । प्रहरीलाई सूचना नपुगेरै नेपाली बजार कति नक्कली नोट छन् यो प्रश्न उठेको छ ।
नक्कली नोटका अभियुक्तलाई ७ वर्ष जेल
प्रावधान अनुसार नक्कली नोटसहित प्रक्राउ परेको ब्यक्तिलाई ७ वर्ष जेल सझाय हुने गरे अभिवक्ता पूर्ण प्रसाद हमाल बताए । उनले भने, ‘नियामक निकायले निकालेको जस्तै देखिने नक्कली नोट कसैले पनि चलनचल्ती, निकासी, पैठारी, खरिद, बिक्री गर्नु हुँदैन यदि यस्तो गरेको पाइएका त्यो ब्यक्ति प्रक्राउ पर्छ । नोटको मात्रा हेरी ७ वर्षसम्म जेल र ७० हजारसम्म जरिवानाको ब्यवस्था छ’
साथै, नक्कली नोट बनाउने मेशन राख्न तथा कुनै कम्पनीले नक्कली नोट समेत बनाउन नपाउने ब्यवस्था रहेको छ । बरामद भएको पैसा नेपाल राष्ट्र बैंकको रोहबरमा जलाउने गरेको छ ।