प्रभु हेलिकोप्टरको १५ करोड नाफा गायब, हिसाब मिलाउन प्रिमियममा आइपीओ
काठमाडौँ । प्रभु हेलिकोप्टरको साढे १५ करोड रुपैयाँ आम्दानी गायब भएको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनी सन् २०२४ मा २६ करोड रुपैयाँ नाफा कमाएको छ । सन् २०२३ मा भने कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । वर्षदिनको अवधिमा कम्पनीको १५ करोड ७० लाख नाफा गायब भएको हो ।
कम्पनीले २२ करोड ८० लाख रुपैयाँमा आर्जन गरेको थियो । पछिल्लो आर्थिक प्रदर्शनले कम्पनीको वित्तीय अस्थिरता र ऋण संरचनामा देखिएको कमजोरीलाई उजागर गरेको छ ।
कर, ब्याज, मूल्यह्रास र परिशोधन मार्जिन २०२३ मा ५४.०८ प्रतिशतमा सुधार भए पनि २०२४ मा यो ४७.९७ प्रतिशतमा झरेको छ, जसले कम्पनीको लाभदायकतामा कमी आएको देखिएको छ । ब्याज कवरेज अनुपात पनि कमजोर देखिएको छ । सन् २०२२ मा ०.७४ को न्यून स्तरबाट २०२३ मा २.३७ मा सुधार भए पनि २०२४ मा १.९७ मा झरेको छ ।
कम्पनीको वित्तीय स्थायित्व अझै पनि गम्भीर अवस्थामै रहेको छ । कुल ऋण/नगद लाभ अनुपात २०२२ मा नकारात्मक रहेकोमा २०२३ मा ६.१४ मा पुगेको र २०२४ मा ११.११ मा थप बिग्रिएको देखिएको छ । समग्र गियरिङ अनुपात २०२२ मा नकारात्मक रहेकोमा २०२३ मा अत्यन्तै उच्च ४५.२१ मा पुगेको र २०२४ मा ४.२५ मा छ । करेन्ट रेसियो भने सुधार हुँदै २०२२ को १.३० बाट २०२४ मा ९.९४ पुगेको छ, तर अन्य वित्तीय सूचकहरूले कम्पनीको दयनीय वित्तीय अवस्था रहेको छ ।
६४ करोड ऋण लिँदै कम्पनी
कम्पनी वित्तीय अवस्थामा कमजोर भएपछि ६४ करोड रुपैयाँ बराबरको ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन गरि सो मात्राको कर्जा सुविधा लिन केयर रेटिङ्ग नेपालमार्फत रेटिङ्ग गराएको छ । जसमध्ये लङ ट्रम ६१ करोड ९९ लाख रुपैयाँका लागि ‘केयर एनपी बी’ र सर्ट ट्रम २ करोड कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ प्राप्त गरेको छ ।
यसअघि ‘केयर–एनपी बी–/ए४’ मा राखिएको कम्पनीको रेटिङलाई नियामकले ‘इश्युअर नट कोअपरेटिङ’ श्रेणीबाट हटाएर अद्यावधिक गरेको हो ।
न्यूनतम जानकारीको अभावमा कम्पनीको वित्तीय स्थिति र रेटिङ अद्यावधिक गर्न नसकिएको भन्दै यसअघि कम्पनीलाई नकारात्मक श्रेणीमा राखिएको थियो । तर, कम्पनीले आवश्यक विवरण प्रस्तुत गरेपछि केयर रेटिङ्सले पुनः समीक्षा गरी नयाँ रेटिङ सार्वजनिक गरेको हो । जारीकर्ता रेटिङका आधारमा कम्पनीको समग्र गियरिङ अनुपात आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा ४.००x भन्दा बढी नहुने सर्तमा ‘केयर–एनपी बी(इस)’ प्रदान गरिएको छ ।
तर, यी रेटिङहरूले कम्पनीलाई वित्तीय दायित्व पूरा गर्न उच्च जोखिमयुक्त श्रेणीमा राखेको प्रष्ट देखिन्छ । कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पुरा गर्न र आर्थिक स्थायित्व हासिल गर्न थप सुधारात्मक प्रयास गर्नु जरुरी रहेको छ ।
कम्पनीको बैंक सुविधाहरूलाई दिइएका रेटिङहरू गत वर्षको सञ्चालनको अस्थिरतासँगै कम नेट मुनाफा र अत्यधिक ऋण–निर्भर पूंजी संरचनाले दबाब पार्ने खतरा देखिन्छ । सन् २०२३ र सन् २०२४ को अवधिमा कम्पनीको सञ्चालनमा उतारचढ़ाव र मुनाफा कमजोर रहेकोले रेटिङमा नकारात्मक प्रभाव परेको छ । रेटिङहरूमा कम्पनीको पूंजी संरचना र कभरिज इन्डिकेटरहरूमा पनि चाप परेको छ, जुन आगामी समयमा प्रस्तावित उच्च ऋण–आधारित पूँजीकरण योजनाका कारण थप दबावमा पर्न सक्छ ।
कम्पनीको कार्यपद्धति विशेष गरी कार्यशील पूँजीको आवश्यकता बढी हुने र ब्याज दरहरूको उतारचढ़ावबाट प्रभावित हुने प्रकृतिको भएकाले यसको तरलता अवस्था पनि कमजोर देखिन्छ । पर्यटन उद्योगको मौसमी प्रभाव र उच्च चक्रीयतालाई ध्यानमा राख्दा कम्पनीको वित्तीय अवस्था प्रभावित भइरहेको छ ।
तर, रेटिङहरूमा कम्पनीका अनुभवी प्रमोटरहरू र सञ्चालनको मध्यम ट्र्याक रेकर्डलाई सकारात्मक पक्षको रूपमा गनिएको छ । साथै, घरेलु उड्डयन उद्योगमा प्रवेश गर्न उच्च अवरोध र सरकारको पर्यटन क्षेत्रको लागि पहलहरूको असरलाई पनि रेटिङमा ध्यानमा राखिएको छ ।
लगानीकर्ताको लगानी कुम्ल्याउने योजना
वित्तीय अवस्थामा कमजोर बन्दै गएपछि कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्ने योजना अघि सारेको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने योजनासहित फागुन ४ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । सूचनामा कम्पनीले प्रिमियम आइपीओ नभनेपनि सभामा प्रिमियम आइपीओ प्रस्ताव लैजाने स्रोतले बताएको छ ।
वित्तीय सूचक धराप तिर चुलिँदै गएपछि कम्पनीले ल्याउन लागेको प्रिमियम आइपीओ लगानीकर्ताबाट पैसा उठाउने दाउको रुपमा हेरिएको छ । यता, प्रिमियम आइपीओ निष्कासनमा भने नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने कठाई गरिरहेको छ । बोर्डले प्रिमियम आइपीओ विषयमा समिति नै बनाएर अध्ययन गरी रहेको छ ।
प्रभु हेलिकोप्टर एक प्राइवेट लिमिटेड कम्पनीको रूपमा स्थापित गरिएको थियो । यसले २०१५ मा मुक्तिनाथ एअरलाइन प्राइवेट लिमिटेडको व्यापारलाई समेटेको थियो । कम्पनीलाई २०२२ को जुलाई १४ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरियो र यसले प्रभु हेलिकोप्टर लिमिटेड को नाम राख्यो, जसको दर्ता कार्यालय काठमाडौँमा रहेको छ ।