बीमाको दायरा खुम्चियो, व्यवसायको आकार बढेर १ खर्बमाथि
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले अनिवार्य गरेको वैदेशिक रोजगारी बाहेक १६.८१ प्रतिशत जनसंख्यामात्र जीवन बीमाको दायरामा आएका छन् ।
यस अवधिसम्ममा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेख बाहेक) ८३.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा बाहिर रहेको देखिन्छ । यस अवधिमा १६.८१ प्रतिशत जनसंख्यामात्र जीवन बीमाको दायरामा आएको देखिन्छ।
गत आर्थिक वर्षको पुससम्म १७.०८ प्रतिशत जनसंख्या बीमाको दायरामा थियो ।। जीवन बीमाको दायरामा आएको जनसंख्या गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.२७ प्रतिशत बिन्दुले घटेको हो ।
वैदेशिक रोजगारी बीमाले दायरा केही बढेको देखिए पनि समग्रमा भने खुम्चिएको छ । दायरा खुम्चिए पनि बीमा व्यवसायको आकार बढेर १ खर्बमाथि पुगेको छ । चालु आवको पुससम्म समग्रमा बीमा व्यवसायको आकार १ खर्ब २ अर्ब ४८ करोड पुगेको छ ।
म्यादी तथा लघु म्यादी जीवन बीमा लेखसहित बीमाको दायरामा आएको जनसंख्या ३५.९७ प्रतिशत रहेको छ । गत वर्ष पुसमा ३६.७८ प्रतिशत रहेको थियो । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख समेतलाई समावेश गर्दा कुल ४३.६२ प्रतिशत जनसंख्या जीवन बीमाको दायरमा आएको बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ । गत आवको पुससम्म ४३.५ प्रतिशत जनसंख्यामा बीमाको पहुँच रहेको थियो ।
सरकारले प्रत्येक वर्ष नीति तथा कार्यक्रममार्फत बीमाको पहुँच विस्तारको घोषणा गर्दै आएको छ । तर, व्यवहारमा भने बीमाको दायरा नै घट्न पुगेको छ । बीमा कम्पनीहरुको शाखा सञ्जाल बढे पनि दायरा भने खासै विस्तार हुन सकेको छैन् । आर्थिक गतिविधिमा आएको सुस्तताले पछिल्लो समयमा पोलिसी सरेन्डर गर्नेहरु बढेपछि बीमाको दायरा खुम्चिन थालेको हो ।
आर्थिक वर्ष २०८१–८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ५४ हजार बढी बीमालेख सरेन्डर भएको छ । प्राधिकरणको तथ्यांक अनुसार पुस महिनासम्ममा ५४ हजार ४१४ वटा बीमालेख समर्पणवापत कुल ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको छ ।
हाल १४ वटा जीवन, १४ वटा निर्जीवन तथा ४ वटा निर्जीवन लघु बीमा र ३ वटा जीवन लघु बीमा कम्पनीहरु संचालनमा रहेका छन् । बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या नै ३ हजार नाघिसेको छ । पछिल्लो १ वर्षमा समग्रमा बीमा कम्पनीहरुको शाखा सञ्जाल ४.६७ प्रतिशतले बढेको छ । त्यस्तै, बीमा कम्पनीहरुको कर्मचारी संख्यासमेत ११ हजार ४९८ बाट बढेर ११ हजार ९०१ पुगेको छ । १ वर्षमा कर्मचारी संख्या ३.५ प्रतिशतले बढेको हो ।
प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुको शाखा संख्या १ हजार ८४४ पुगेको छ । गत पुसको तुलनामा २.८८ प्रतिशतले शाख सञ्जाल विस्तार भएको देखिन्छ । यस्तै, निर्जीवन बीमा कम्पनीहरुको शाखा पनि ११.३५ प्रतिशतले बढेर १ हजार १५८ पुगेको छ । जीवन बीमा कम्पनीहरुमा ५ हजार ९ सय २६ तथा निर्जीवन बीमा कम्पनीहरुमा ५ हजार ९ सय ७५ कर्मचारी कार्यरत रहेका छन् । गत वर्षको पुसको तुलनामा जीवन बीमामा १.८६ प्रतिशत तथा निर्जीवन बीमामा ५.१९ प्रतिशतले कर्मचारी थपिएका छन् ।
गत आर्थिक वर्षको पुसको तुलनामा बीमाको दायरा खुम्चिएको भएपनि कुल सक्रिय जीवन बीमा लेखको संख्या भने २.०८ प्रतिशतले बढेकोे छ । यस्तै, निर्जीवन बीमा लेख संख्यामा पनि ८.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । प्राधिकरणका अनुसार चालु आवको पुसमसान्तसम्म १ करोड ४० लाख ४१ हजार ३५३ जीवन बीमा लेख सक्रिय रहेका छन भने कुल सक्रिय निर्जीवन बीमा लेख १५ लाख ५७ हजार ७९० रहेका छन् ।
चालु आवको पुससम्ममा प्रथम बीमा शुल्क संकलनमा २८.७३ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुससम्ममा १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन भएकोमा चालु आवको पुससम्ममा १७ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा नवीकरणीय जीवन बीमा शुुल्क ४.९४ प्रतिशतले बढेको छ । कुल जीवन बीमा संकलनमा ९.३७ प्रतिशतले बढेकोे छ । निर्जीवन बीमा शुल्क संकलन पनि ९.४२ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पुससम्ममा जीवन तथा निर्जीवन क्षेत्रका बीमा कम्पनीहरुले कुल १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.४२ प्रतिशतले धेरै हो । कम्पनीहरुले गत आवको पुससम्म ९३ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।