आरम्भ चौतारीको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफा १६१% वृद्धि, ईपीएस १७.७९ रुपैयाँ

१३ माघ २०८१, आईतवार ०९:२७

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गन आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६१ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा समेत बढ्न पुगेको हो।

कम्पनीको सञ्चालन नाफा गत आवमा १ करोड ७८ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै खुद ब्याज आम्दानी पनि गत आवमा १२ करोड ८३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ करोड १७ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ भने सञ्चित मुनाफा १ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ। कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ७९ पैसा (वार्षिकीकरण) रहेको छ, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ भने खराब कर्जा ४ दशमलव ६४ प्रतिशतबाट घटेर २ दशमलव ९१ प्रतिशतमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*