चन्द्र ढकालको केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते
काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि व्यापारी चन्द्र ढकालका लागि निर्माण हुन लागेको केवलकारका लागि जनताको छातीमा बन्दुकले गोली दागेको समेत आरोप लाग्ने भएको छ ।आज ताप्लेजुङमा घटेको घटनाबाट सरकार व्यापारीको लागि जनता मारेर अघि बढ्न खोजेको पुष्टि हुन आएको छ ।
पाथिभरामा चन्द्र ढकालले बनाउन लागेको केवलकारको शान्तिपूर्ण विरोध गर्न खोज्ने पहिचानवादीहरुमाथि आज अपरान्ह चार बजेदेखि छ बजेसम्ममा करिब २० राउण्ड भन्दा बढि गोली चलाइएको छ । प्रहरी गोली चलाउँदा भएको सो घटनामा ‘नो केवलकार अभियान’का यम बहादुर लिम्बु र धर्मान पालुङ्वा गम्भिर घाइते भएका छन् । उनीहरुलाई आजै साँझ करिब छ बजेतिर प्रहरीले चलाएको अन्धाधुन्ध गोली लागेर अचेत अवस्थामा छन् । उनीहरुको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का एक आन्दोलनकारी बिशाल श्रेङको कानबाट गोली पार गर्दा सामान्य घाइते भएका छन् । आज दिनभरको झडपमा चार जना आन्दोलनकारी र आधा दर्जन प्रहरीहरु घाइते भएका छन् । साँझ प्रहरीले गोली चलाएपछि स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको छ ।
घटनास्थलबाट सरोज काङ्लिवा याक्थुङले बीमापोेष्टलाई दिएको जानकारी अनुसार प्रहरीले १८।१९ राउण्ड गोली चलाएको र कति जनालाई गोली लागेर घाइते भएका छन् भन्ने एकिन गर्ने अवस्था नरहेको बताए । उनका अनुसार प्रहरीले रातपरेपछि गोली चलाएकोले यकिन भन्ने अवस्था छैन ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले दुई जना आन्दोलनकारीलाई प्रहरीको गोली लागेर गम्भिर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । व्यापारी चन्द्र प्रसाद ढकालले दुई दिन अघि ताप्लेजुङको पाथिभरामा जाने केवलकार निर्माण सुरु गर्न आदेश दिएका थिए । जिल्लास्थित प्रहरी, सशस्त्र सशस्त्र प्रहरी समेतलाई प्रयोग गरेर आन्दोलनकारीलाई दमन गर्न गृहमन्त्री रमेश लेखकले नै निर्देशन दिएपछि आजको स्थिति उत्पन्न भएको आन्दोलनकारीको भनाई छ । आज दिनभरजसो पाथिभरा माताको मन्दिरमा जाने केवलकार निर्माणस्थल बलुडाँडामा भिडन्त भइरहेको थियो ।
प्रहरी र सशस्त्र प्रहरीलाई गृहमन्त्री रमेश लेखकको ठाडो आदेश जारी गरिएपछि सर्वसाधारणमाथि अन्धाधुन्द गोली प्रहार हुँदा दुई जनाको अवस्था गम्भिर हुन पुगेको छ । आन्दोलनकारीहरुले जनाए अनुसार प्रहरीको दमनमा केन्द्र सिंह फुरुम्बो, जित बहादुर केदेम, दिपेश मादेन, जीवन वनेम, शसिहाङ पोमु, लक लिम्बु, राजन लिम्बु घाइते भएका छन् ।
स्थानीयबासीले पाथिभराको ऐतिहासिकता मासेर केवलकार बनाउन कुनै पनि हालतमा नदिने अडान राख्दै आएकोमा जिल्लास्थित एमालेका नेता, सांसद योगेश भट्टराई समेत मिलेमतोमा केवलकारका लागि जबरजस्ती भइरहेको थियो । पछिल्लो समय केवलकारकै कारण सांसद भट्टराई ताप्लेजुङबाट लखेटिने अवस्थामा पुगिसकेका छन् ।
One thought on “चन्द्र ढकालको केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते”