के अब पुँजी बजारमा सकारात्मक माहोल सिर्जना होला ?
काठमाडौँ। नेपाली शेयर बजार यस साता सकारात्मक संकेतहरू देखाउँदै अघि बढिरहेको छ। नेप्से सूचक र कारोबार रकमको वृद्धिले बजारमा सकारात्मक प्रवृत्तिको संकेत दिएको छ, जसले आगामी दिनहरूमा सकारात्मक माहोलको सम्भावना पस्केको छ।
यस साता बजारको औसत प्रवृत्तिले सकारात्मक माहोलको विकास हुने संकेत दिएको भए पनि बिहीबारको कारोबारमा नेप्से सूचक घटेकाले केही अनिश्चितता थपिएको छ। यसै कारण आगामी आइतबार र सोमबारको बजारको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ। यदि कारोबार रकम र सूचक सुधारका साथ अघि बढ्छ भने, बजारको स्थिरता र वृद्धिको सम्भावना बढ्न सक्छ।
नेपालको शेयर बजारमा अहिले पनि ट्रेडरहरूको प्रभाव छ। थोरै नाफामा पनि बिक्री गर्ने प्रवृत्तिले दीर्घकालीन विकासमा अवरोध उत्पन्न गरेको छ। छोटो अवधिको नाफामा रमाउने यो प्रवृत्ति बजारको दीर्घकालीन स्थिरताका लागि चुनौतीपूर्ण साबित भइरहेको छ। यसैगरी, बजारमा ठूलो सुधार हुनेमा केही लगानीकर्ताको विश्वासको कमी छ।
यो साता बजारमा देखिएको करेक्सन र स्थिरताले केही महत्त्वपूर्ण पक्ष उजागर गरेको छ। लामो समयदेखि बजार करेक्सन र साइडवेजको अवस्थामै भएको छ, जसले गर्दा अधिकांश लगानीकर्ताको मनोबल कमजोर बनेको छ। धेरै कम्पनीहरूले आफ्नो साधारण सभा सम्पन्न गरेका छन् र सेयरधनीलाई लाभांश वितरण गर्न थालिसकेका छन्।
त्यस्तै, धेरै कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक भइसकेको छ, जसले बजारमा विश्वास थपेको देखिन्छ। बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई बढावा दिन सक्छ। लामो समयसम्म बजार घट्नुले धेरै कम्पनीहरूको सेयर मूल्यलाई सस्तो बनाएको छ, जसले गर्दा अधिक क्रेताहरुको चासो बजारमा आकर्षित भएको अनुमान गरिएको छ।
सरकारले लगानीसम्बन्धी नीतिहरूमा गरेका सुधार र नयाँ अध्यादेशले निजी क्षेत्रलाई उत्साहित पारेको छ। सर्वसाधारण लगानीकर्ताका लागि सबल वित्तीय सूचक भएका र लाभांश क्षमतामा सुदृढ कम्पनीहरूको छनोट महत्वपूर्ण हुने देखिन्छ । योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लगानीकर्ताले यस्तो रणनीति अवलम्बन गर्न आवश्यक छ । यसले दीर्घकालीन रूपमा सुरक्षित लगानी सुनिश्चित गर्न मद्दत पु-याउनेछ ।