शिखरका मेयर बलायरले किन्न लागेको गाडी गैरकानुनी
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायरले गैरकानुनी रूपमा नयाँ सवारी साधन खरिद गर्न लागेको भन्दै चर्चा र आलोचना भइरहेको छ । हाल से.१ झ २८० नम्बरको गाडी प्रयोग गर्दै आएका मेयर बलायरले अर्को ५२ लाख रुपैयाँको गाडी खरिद गर्न लागेको सार्वजनिक भएसँगै विवाद उत्पन्न भएको हो ।
शिखर नगरपालिकाको १६औं नगरसभाले मेयर बलायरका लागि ५२ लाख रुपैयाँको नयाँ गाडी खरिदका लागि बजेट स्वीकृत गरेको छ । यद्यपि, यो कदम सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७ को ठाडो उल्लङ्घन भएको भन्दै सर्वसाधारणले चर्को विरोध गरिरहेका छन् । मापदण्ड अनुसार सार्वजनिक निकायका पदाधिकारीहरूले एकभन्दा बढी सरकारी सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था छ । ब्यवस्था अनुसार गाडी मर्मत गर्ने सक्ने भएपनि नयाँ गाडि किन्न मिल्दैन ।
तर, नगरसभाले मेयरको गाडी सुविधाका लागि ठुलो रकम छुट्याइएको देखिन्छ । नगरपालिकाका सर्वसाधारणको आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बेला महँगो गाडी खरिदमा ठूलो रकम खर्चिनु अन्यायपूर्ण भएको बताएका छन् । नगरपालिकाका जनप्रतिनिधिले जनताका आवश्यकताभन्दा आफ्नो व्यक्तिगत सुविधा प्राथमिकतामा राखेको भन्दै सर्वसाधारण असन्तुष्ट देखिएका छन् ।
सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने मापदण्डले सार्वजनिक निकायका पदाधिकारीले अत्यावश्यकबाहेक गाडी खरिद गर्न नपाउने स्पष्ट नियम बनाए पनि शिखर नगरपालिकाको यस निर्णयले नियमको उल्लङ्घन गरेको छ ।
उता, मेयर बलायरले भने गाडी खरिद नगरपालिकाको आवश्यकता भएको दाबी गरेका छन् । तर, स्थानीय नागरिक र सामाजिक अभियन्ताहरूले मेयरको दाबीलाई अस्वीकार गर्दै नगरपालिकाले जनताको आवश्यकता पूरा गर्न यो बजेट अन्य महत्वपूर्ण क्षेत्रमा खर्चिनुपर्ने बताएका छन् । यो घटनाले शिखर नगरपालिकामा पारदर्शिता र जिम्मेवारीको विषयमा प्रश्न खडा गरेको छ ।
समाचारको प्रभाव: शिखर नगरपालिकाले गर्यो एम्बुलेन्स २४ घण्टाभित्र मर्मत