सबै प्रकारका आर्थिक सहयोग बन्द गर्न राष्ट्रपति ट्रम्पको निर्देशन, नेपालको एमसीसीसहितका सबै सहयोग बन्द
काठमाडौं । नव नियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारको अमेरिकी सहयोग बन्द गर्न निर्देशन दिएका छन् । ट्रम्प प्रशासनको निर्देशनसँगै नेपालमा विवादित रुपमा सञ्चालित एमसीसी र अन्य अमेरिकी आर्थिक सहयोग परियोजना तत्कालको लागि बन्द हुने भएको छ ।
यद्यपि अमेरिकाले ८५ दिनभित्र सबै अमेरिकी सहयोग परियोजना समीक्षा गर्ने जनाएको छ । तत्कालको लागि सबै परियोजनाहरुको काम जुन अवस्थामा छ, सोही अवस्थामा रोक्का राख्न निर्देशन दिइएको जनाइएको अमेरिकी आन्तरिक प्रशासनलाई उध्रित गर्दै सीएनएनले जनाएको छ ।
नयाँ सर्कुलर विश्वका धेरै एजेन्सी र दुताबासहरुले सहयोग दिइरहेका देशहरुलाई पठाइसकेका छन् । काठमाडौंस्थित अमेरिकी दुताबासले नेपालको अर्थमन्त्रालयलाई समेत यस्तो पत्र पठाइसकेको वा एक दुई दिनभित्रैमा प्राप्त हुनेछ । लगत्तै एमसीसी परियोजनामा अमेरिकी सहयोग बन्द भएको औपचारिक तथ्य बाहिर आउनेछ । एमसीसीमा नेपालले ठूलो रकम लगानी गरिसकेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ट्रम्प प्रशासनको आन्तरिक मेमोमा हाल जारी रहेका सबै प्रकारका विदेशी सहयोगहरु रोक्का राख्न आन्तरिक रुपमा सर्कुलर गरेको उल्लेख गरेका छन् ।
उक्त अमेरिकी निर्णयसँगै इजरायललाई दिँदै आएको सहयोग समेत बन्द हुने टाईम्स अफ इजरायलले जनाएको छ । उता, युक्रेनले पाउँदै आएको अमेरिकी सहयोग समेत बन्द हुनेछ । किभपोष्टले युक्रेनले पाउँदै आएको सबै प्रकारको अमेरिकी सहयोग बन्द गर्ने अमेरिकाले निर्णय गरेको उल्लेख छ ।
अमेरिका आफ्ना निकट सहयोगी, गरिब देशहरु सबैलाई दिँदै आएको सहयोग बन्द गरेसँगै नेपालमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्नेछ । कांग्रेस–एमाले–माओवादीले राष्ट्रघात गर्दै भित्राएको एमसीसी समेतको सहयोग रकम तत्कालको लागि बन्द भएको छ । त्यस्तै, अन्य अमेरिकी ग्राण्ट (अनुदान) रकम बन्द भएको छ ।
अमेरिकी प्रशासनले विश्वभरका सबै एजेन्सी र राजदुताबासहरुलाई पत्र पठाउँदै सहयोग रकम रोक्न निर्देशन दिइएको छ । अमेरिकी सेक्रेटरी अफ स्टेट मार्को रोबियोले अमेरिकालाई सर्वशक्तिमान बनाउनका लागि आर्थिक सहयोग रोकिनुपर्ने बताउँदै आएका थिए ।
अमेरिकी अधिकारीहरुले सबै सहयोगहरुको समीक्षा गरेर मात्रै अघि बढाइनेछ । औचित्य र आश्यकताको आधारमा अघि बढाउने योजना रहेको बीबीसीले अमेरिकी आन्तरिक प्रशासन विभागका कर्मचारीलाई उध्रित गर्दै उल्लेख गरेको छ ।
बीबीसीका अनुसार विश्वभरका देशहरुमा गएको सबै प्रकारको आर्थिक सहयोग कार्यक्रम रोक्न परिपत्र गरिएको पत्र लिक भएको छ । अमेरिका विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहयोग गर्ने दाता राष्ट्र हो । तथ्याङ्क अनुसार सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर विश्वका विभिन्न देशहरुलाई सहयोग गरेको थियो ।