सिमेन्ट उद्योगहरू गम्भीर संकटमा, २२ उद्योग पूर्ण रूपमा बन्द
काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उधोग संकटमा रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन बोल्दै संघले यस्तो बताएको हो । आर्थिक मन्दी, पूँजीगत बजेटको न्यून विनियोजन र खर्च गर्न नसकिने अवस्थाका कारण सिमेन्ट उद्योगहरूले औसतमा केवल ३० प्रतिशत उत्पादन क्षमतामा सञ्चालन गर्न बाध्य भएका छन्।
उद्योगहरूले बैंक ऋणको किस्ता र ब्याज भुक्तानी, कच्चा पदार्थको खरिद, बढ्दो ढुवानी लागत र नेपाल विद्युत प्राधिकरणको दैनिक १२ घण्टासम्मको लोडसेडिङका कारण सिमेन्ट उत्पादन लागत अत्यधिक वृद्धि भएको संघले जनाएको छ।
२२ सिमेन्ट उद्योगहरू पूर्ण रूपमा बन्द
नेपालभर सञ्चालनमा रहेका ६५ सिमेन्ट उद्योगहरूमध्ये २२ उद्योगहरू यस अवधिसम्म पूर्ण रूपमा बन्द भइसकेका छन्। अन्य थुप्रै उद्योगहरू पनि ठूलो घाटाका कारण बन्द उन्मुख अवस्थामा रहेको संघको भनाइ छ। लामो समयसम्म घाटा व्यहोर्न नसकिने अवस्थामा पुगेका उद्योगहरूले उत्पादन लागतभन्दा कम मूल्यमा सिमेन्ट बिक्री गर्दै तरलता व्यवस्थापन गर्न बाध्य भएको उल्लेख छ।
मूल्य वृद्धिको निर्णय र उपभोक्ता चासो
संघका अनुसार, हालका महिनाहरूमा उद्योगहरूले उत्पादन लागत धान्न सक्ने गरी सिमेन्टको बिक्री मूल्य केही वृद्धि गरेका छन्। तथापि, यस विषयमा आम उपभोक्ताहरूको चासो र गुनासोलाई ध्यानमा राख्दै, संघले मितिः २०८१ श्रावण महिनादेखि प्रति बोरा (५० केजी) सिमेन्टको अधिकतम मूल्य रु ११५ (मु.अ.कर बाहेक) भन्दा थप नहुने गरी बिक्री मूल्य निर्धारण गर्न उद्योगहरूलाई पत्राचार गरेको छ।
लोडसेडिङ र कानुनी जटिलताको चुनौती
विज्ञप्तीमा उल्लेख गरिएअनुसार, उद्योगहरूले लोडसेडिङ विना नियमित विद्युत् आपूर्ति र कानुनी जटिलताको समाधानका लागि सरकारलाई अपिल गरेका छन्। संघले उद्योगहरूको हालको संकटपूर्ण अवस्था समाधान गर्न सरकार तथा सरोकारवाला निकायहरूलाई तुरुन्त कदम चाल्न आग्रह गरेको छ।
संघले सदस्य उद्योगहरूलाई मितिः २०८१।१०।१२ बाट संघले निर्देशन दिएको बिक्री मूल्य परिमार्जन गरी कार्यान्वयन गर्न अनुरोध गरेको छ। साथै, औद्योगिक उत्पादन र आर्थिक विकासमा योगदान पुर्याउन सबै पक्षहरूको सहयोगको अपेक्षा व्यक्त गरेको छ।
सिमेन्ट उद्योगहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न संघले यथाशीघ्र समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।