हिरो ब्रान्डका मोटरसाइकल एसेम्बलमा आक्रामक चौधरी ग्रुप, डेढ अर्ब रुपैयाँ ऋण लिँदै

११ माघ २०८१, शुक्रबार १३:५९

काठमाडौँ । चौधरी ग्रुपले हिरो ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको एसेम्बललाई थप तिब्रता दिने भएको छ । सीजी फ्युचर फ्याक्ट्री प्रालिले २०८० माघदेखि हिरो ब्रान्डका बाइक र स्कुटरको एसेम्बल सुरु गरेको हो । २०८० जेठमा दर्ता भएको यो कम्पनी सीजी इन्डस्ट्रियल पार्क नवलपरासीमा रहेको एसेम्बली प्लान्टमार्फत पूर्ण रूपमा आयात गरिएका पार्टपुर्जाहरूको एसेम्बल गरि रहेको हो ।

हिरोका बाइक तथा स्कुटरहरू नेपालमै उत्पादन गर्ने प्लान्ट चौधरी ग्रपले २०८१ बैशाख ९ गते उद्घाटन गरेको हो । ४ बिघा, १६ कट्ठा, १० धुर जग्गामा हिरोका मोटरसाइकल र स्कुटर एसेम्बल भइरहेका छन् । हाल कम्पनीले एक्सप्लस २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र हिरो जुम ११० स्कुटर एसेम्बल गरि रहेको छ ।

अझै एसेम्बललाई थप द्रुत गति दिन कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी सो मात्राको कर्जा सुविधा लिन इक्रा नेपालमार्फत रेटिङ्ग गराएको छ । कम्पनीको लामो अवधि ऋण सीमा १५ करोड रुपैयाँलाई ‘इक्रा एनपि एल डबल बि’ र छोटो अवधि ऋण सीमा १ अर्ब ३० करोड रुपैयाँलाई ‘इक्रा एनपि ए फो’ रेटिङ प्रदान गरिएको छ । एसेम्बललाई थप विस्तार र आक्रामक बनाउने सोचमा कम्पनी रहेको छ ।

एसेम्बली भएका बाइक र स्कुटरहरू कम्पनीको सहायक कम्पनी सीजी मोटर्स प्रालिलाई मात्र बिक्री गरिन्छ । यसरी एसेम्बल भएका सवारीसाधन नेपाली बजारमा सीजी मोटर्समार्फत उपभोक्तासम्म पुराउनेछ ।

सीजी फ्युचर फ्याक्ट्रीलाई दिइएको रेटिङ मुख्य रूपमा यस कम्पनीका अनुभवी प्रवर्धकहरूको प्रोफाइल र नेपालको विभिन्न क्षेत्रहरूमा लामो र विविध व्यवसायिक अनुभव भएको चौधरी समूहसँगको सम्बन्धलाई ध्यानमा राख्दै गरिएको हो । चौधरी समूहले निर्माण, व्यापार, अटोमोबाइल, बैंकिङ, तथा आतिथ्य क्षेत्रजस्ता धेरै क्षेत्रमा बलियो उपस्थिति कायम गरेको छ ।

कम्पनीले आफ्नो दुई पाङ्ग्रे सवारी साधन (बाइक र स्कुटर) को एसेम्बली लाइन सफलतापूर्वक सम्पन्न गरी २०२४ को मध्य अक्टोबरसम्म प्रारम्भिक ६ महिनामा करिब ११ हजार २०० युनिट सवारी साधन बिक्री गरेको हो ।

हाल यो कम्पनीको ६० प्रतिशत शेयर सरिका चौधरी र ४० प्रतिशत शेयर निर्वाण कुमार चौधरीको स्वामित्वमा छ । निर्वाण कुमार चौधरी कम्पनीका अध्यक्ष हुन् । उनी सीजी मोटर्सका पनि अध्यक्ष रहेका छन् ।

हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको एसेम्बल नेपालमा सुरु गर्नाले नेपाली मोटरसाइकल र स्कुटर बजारमा नयाँ प्रतिस्पर्धा थपिने अपेक्षा गरिएको छ । चौधरी ग्रुपले आफ्नो सीजी फ्युचर फ्याक्ट्री मार्फत यो एसेम्बली कार्य अघि बढाउँदै गर्दा नेपालमा सस्तो मूल्यमा उच्च गुणस्तरीय सवारी साधनको उपलब्धता बढ्ने छ। यो प्रतिस्पर्धाले अन्य ब्रान्डहरूलाई पनि मूल्य निर्धारणमा पुनः मूल्याङ्कन गर्न बाध्य बनाउनेछ, जसले उपभोक्ताहरूलाई फाइदा पुर्याउनेछ ।

यो एसेम्बल प्रक्रिया सुरु भएपछि नेपाली बजारमा हिरो ब्रान्डको हिस्सा बढ्ने निश्चित देखिन्छ । उच्च गुणस्तर र प्रतिस्पर्धी मूल्यका कारण हिरोले नेपाली उपभोक्तामा लोकप्रियता प्राप्त गर्ने छ, जसले नेपालको मोटरसाइकल र स्कुटर बजारमा नयाँ युगको सुरुआत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*