प्राइम बैंकको वित्तीय विवरणमा कैफियत, राष्ट्र बैंकले दियो सुधारका लागि निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडलाई वित्तीय विवरणमा देखिएका कैफियत सुधार गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जारी गरेको पत्रमा लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा उठाइएका कमजोरीहरू तत्काल सुधार गर्न र त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक कदम चाल्न भनिएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रावधान अनुसार बैंकले चुक्ता पुँजीको ५ प्रतिशतबराबरको रकम नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ । तर, लाभांश वितरणका लागि बैंकले राष्ट्र बैंकका निर्देशनहरूको पूर्ण पालना गर्नु पर्नेछ ।
राष्ट्र बैंकले संस्थापक शेयरधनीहरूले धितो बन्धक राखेर अन्य वित्तीय संस्थाबाट कर्जा लिएको भए त्यसलाई चुक्ता नगरेसम्म नगद लाभांश रोक्का राख्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार संस्थापकले आफ्नो शेयर धितो राख्दा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान रहेकोले यस विषयमा गम्भीर हुन भनिएको छ । संस्थापक शेयरधनीहरूले कुनै बैंक वा वित्तीय संस्थाको शेयरमा लगानी गर्दा कानूनी सीमा नाघेको भए, सो सीमा भित्र ल्याउन निर्देशन दिइएको छ । राष्ट्र बैंकले बैंकलाई लाभांश वितरण गर्दा यस्तो कानूनी सीमा पालना नगर्ने शेयरधनीहरूको लाभांश रोक्का गर्न भनेको छ ।
राष्ट्र बैंकले यी निर्देशनहरू बैंकको वार्षिक प्रतिवेदनमा छुट्टै पानामा सार्वजनिक गर्न भनेको छ । बैंकले लेखापरीक्षकको सुझावको पालना गर्दै वार्षिक साधारण सभाबाट वित्तीय विवरण स्वीकृत भएपछि मात्र नगद लाभांश वितरण गर्न अनुमति प्राप्त गर्नेछ।
बैंकले ९९५.३३ करोड रुपैयाँ सञ्चित मुनाफामध्ये ९७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले वित्तीय विवरण र कागजातहरूको अध्ययनपछि उक्त प्रस्तावमा सहमति जनाउँदै, प्रचलित कानूनी व्यवस्थाको पालना अनिवार्य गरिएको उल्लेख गरेको छ । यो कदम राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अनुशासन र पारदर्शिता सुनिश्चित गर्न गरेको प्रयास हो । प्राइम कमर्सियल बैंकले यी निर्देशनहरू समयमै कार्यान्वयन गर्दै वित्तीय पारदर्शिता कायम राख्नुपर्ने देखिएको हो ।
राष्ट्र बैंक दिएको तीन निर्देशन
१. लेखापरीक्षकको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका सम्पूर्ण कैफियतहरु पूर्ण रुपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन हुन
२. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पुँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेको संस्थापकहरुले आफले धारण गरेको शेयर बिक्री तथा धितो बन्धक राख्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफुले धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रूपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।
३. यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं.१० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेगा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश रोक्का राख्ने व्यवस्था मिलाउनु हुन ।
यो पनि
प्राइम कमर्सियल बैंकद्वारा करोडौं कर छली, बक्यौता नतिरी लाभांश वितरण