अर्थमन्त्री पौडेलमाथि प्रधानमन्त्री ओलीको यतिसाह्रो अविश्वास !
काठमाडौं । पछिल्लो समय उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा राम्रो काम भएको भन्दै बचाउ गरिरहेका थिए । खास्सै चासो नदिइएको उक्त पत्रकार सम्मेलनको पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अर्थमन्त्रीप्रति चरम अविश्वास गरेको तथ्य फेला परेको छ ।
अर्थमन्त्रीको काम गराईप्रति चित्त नबुझेको आशय व्यवहारबाट व्यक्त गरेपछि करिब एक महिना अघि मन्त्री पौडेल अर्थका दुवै जना सचिवसहित बालुवाटार पुगेर कर्मचारी मुख्यतः सह–सचिवहरुले असहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीसँग गुनासो गरेका थिए ।
पछिल्लो पटक फेरि फाइल हराएको काण्ड सेलाउन नपाउँदै अर्थका तीन जना सह–सचिव सचिवहरु मध्यरातिसम्म बालुवाटार बसेर फर्केका छन् । यसरी मध्यरातिसम्म बालुवाटारमा बसेर फर्कने मध्येका एक श्रीकृष्ण नेपाल मासिक लाखौं रुपैयाँ आउने एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक पदमा सिफारिस भइसकेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपालसहित तीन जना सह–सचिवसँग अर्थमन्त्रालय भित्रको समस्या, अर्थमन्त्री पौडेलेले गरेको चलखेल, सचिवहरु रामप्रसाद घिमिरे र दिनेश कुमार घिमिरेको भूमिकाबारेमा छलफल भएको जनाइएको छ । बालुवाटार स्रोतले जनाएअनुसार श्रीकृष्ण नेपालबाहेक अन्य दुई सह–सचिवहरुमा अर्थ मन्त्रालय कब्जा जमाएर बसेकाहरु हुन् । उनीहरुको परिचय खुलाइएको छैन ।
पछिल्लो समय अर्थमन्त्री बिष्णु पौडेल र प्रधानमन्त्री ओलीबीचको सम्बन्ध चिसिने क्रममा रहेको छ । अर्थतन्त्रमा सुधार ल्याउन नसकेको, राजश्व बढाउन नसकेको, सेबोनमार्फत गैर कानुनी कार्यहरु नरोकिएको भन्दै प्रधानमन्त्री ओली पौडेलसँग असन्तुष्ट रहेको बताइन्छ । यद्यपि सो सम्बन्धमा पौडेल र प्रम ओलीले सार्वजनिक रुपमा चर्चा गरेका भने छैनन् ।
विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेलमाथि विश्वास गर्न छोडेका छन् । पछिल्लो पटक अर्थमन्त्रालयका सह–सचिवहरुलाई बालुवाटार बोलाएर मध्यरातिसम्म राखी ब्रिफिङ गर्नुले पनि सो कुराको पुष्टि गर्दछ । प्रधानमन्त्रीकै चरम अविश्वासका बीच बिष्णु प्रसाद पौडेल कति दिन अर्थमन्त्रालयमा बस्छन् ? त्यो भने हेर्न बाँकी छ ।