वित्तीय दायित्वमा अब्बल बन्दै मिड सोलु हाइड्रोपावर, सुधार आयो रेटिङ
काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडको क्रेडिट रेटिङ ‘ट्रिपल बी माइनस’ मा उकासिएको छ। यसअघि डबल बि प्लस रहेको रेटिङ सुधार गर्दै नयाँ रेटिङ प्रदान गरिएको हो। इक्रा नेपालले कम्पनीको लामो अवधि ऋण सीमा [ICRANP] LBBB- मा उकासेको छ, जुन यसअघि [ICRANP] LBB+ मा थियो।
इक्रा नेपालले कम्पनीको छोटो अवधि ऋण सीमाको रेटिङ भने रद्द गरेको छ। यसअघि छोटो अवधि ऋण सीमाको रेटिङ [ICRANP] A4+ रहेको थियो।
उक्त सुधारसँगै, मिड सोलु हाइड्रोपावर लिमिटेडले वित्तीय दायित्वहरू समयमा पूरा गर्न मध्यमस्तरको सुरक्षा कायम गरेको विश्वास दिलाएको छ। इक्रा नेपालका अनुसार, यो रेटिङ कम्पनीको वित्तीय विश्वसनीयताका सम्बन्धमा मात्र राय व्यक्त गर्दछ र कुनै विशिष्ट ऋण उपकरणमा लागू हुँदैन।
मिड सोलु हाइड्रोपावर लिमिटेडको हालको लामो अवधि ऋण सीमा १ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ रहेको छ, जुन यसअघि १ अर्ब ३५ करोड २१ लाख रुपैयाँ थियो। कम्पनीले सोलु जलविद्युत परियोजनाको निर्माणमार्फत नेपालको ऊर्जाक्षेत्रमा योगदान गरिरहेको छ।
रेटिङ उकासिनुमा कम्पनीले वित्तीय र सञ्चालनक्षेत्रमा गरेको सुधार, जलविद्युत परियोजनाबाट उत्पादन वृद्धि, र वित्तीय व्यवस्थापनमा देखिएको सुधारलाई कारण मानिएको छ। इक्रा नेपालले यसलाई नेपालको जलविद्युत विकासका लागि सकारात्मक संकेतका रूपमा लिएको छ।
मिड सोलु हाइड्रोपावर लिमिटेडले भविष्यमा आफ्नो वित्तीय स्थिरता थप मजबुत बनाउँदै नेपालको ऊर्जा उत्पादनमा योगदान दिने अपेक्षा गरिएको छ।