गोल्यान ग्रुपले ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने, प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य
काठमाडौं। गोल्यान ग्रुपले नेपालमा ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने घोषणा गरेको छ। भारतीय सौर्य ऊर्जा कम्पनी प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य गर्दै उक्त परियोजनालाई अघि बढाइने गोल्यान ग्रुपले बुधबार आयोजित कार्यक्रममा जानकारी गराएको हो।
गोल्यान ग्रुपका अनुसार, आगामी १८ महिनाभित्र ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गरी राष्ट्रिय ऊर्जा प्रणालीमा जोड्ने योजना रहेको छ। यो परियोजनाका लागि प्रोजेल ग्रीन इनर्जीसँग सहमति भइसकेको छ, र नेपालका विभिन्न स्थानमा परियोजना सञ्चालन हुने बताइएको छ।
प्रोजेल ग्रीन इनर्जी नेपालले २४ महिनाभित्र ५०० मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। कम्पनीका अध्यक्ष शोवित वैजनाथ रायले स्वच्छ ऊर्जा उत्पादनका लागि नेपालमा काम गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले भने, “यो सहकार्यले नेपालको हरित भविष्य र स्वच्छ ऊर्जा विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
विद्युत नियामक आयोगका अध्यक्ष रामप्रसाद धितालले सौर्य ऊर्जा परियोजनाले नेपालको नवीकरणीय ऊर्जामा नयाँ ऊर्जा थप्ने बताएका छन्। कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले अर्को वर्ष १ हजार मेगावाटसम्म ऊर्जा उत्पादन गर्न सकिने सम्भावना औंल्याए।