बैंक डुब्ने हल्ला अफवाह मात्रै, निक्षेपकर्ताको लगानी सुरक्षित राख्न राष्ट्र बैंक तत्परः गर्भनर अधिकारी
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीको स्थायित्व र निक्षेपकर्ताको सुरक्षामा राष्ट्र बैंक सदैव तत्पर रहेको बताएका छन्।
गर्भनर अधिकारीले पछिल्लो समय बैंक डुब्न लागेको हल्ला व्यापक चलेकोमा त्यसलाई अफवाहको रूपमा मात्र लिन आग्रह गरे। उनले भने, ‘पैसा जम्मा गर्ने निक्षेपकर्ताको पैसा जोखिममा रहन दिंदैनौं। वित्तीय अवस्था बलियो नै छ, खराब कर्जा अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने नियन्त्रणमै छ।’
उनले वित्तीय संस्थाहरूले साना तथा ठूला कर्जाको परिचालनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। ‘ब्यवसायको बिस्तारका लागि बैंकहरूले अग्रसर भएर काम गर्नुपर्छ। कुनै समस्या भएमा राष्ट्र बैंकसँग छलफल गर्न हामी सधैं तयार छौं’ उनले थपे।
अधिकारीले राष्ट्र बैंकले समस्या समाधानका लागि कुनै पनि समयमा आवश्यक कदम चाल्न तयार रहेको उल्लेख गर्दै, “हामी समस्याको समाधानमा एक दिन होइन, एक घण्टा पनि कुर्न चाहँदैनौं”।
गर्भनर अधिकारीले बैंकका कर्मचारी संगठनलाई संस्थागत सुधार र अब्बल बैंकिङ सेवा प्रदान गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले संस्थागत विकासका लागि सकारात्मक सोचको आवश्यकता औंल्याउँदै भने, ‘सकेसम्म सबै समस्या समाधान गर्न हामी प्रयासरत छौं।’
अधिकारीका अनुसार कर्जाको दायरा बढाउँदै व्यवसायको ग्रोथलाई रोक्न नदिने नीति नै बैंकिङ क्षेत्रको प्राथमिकता हुनुपर्ने छ। साथै, साना कर्जाको व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्दै उनले आर्थिक वृद्धि र विकासका लागि बैंकिङ प्रणालीलाई थप सबल बनाउनु पर्नेमा जोड दिए।
Karnali development bank limited ko ke hunxa aba