काठमाडौंमा एएफआईआरको वार्षिक सम्मेलन सम्पन्न
काठमाडौं । एशियाली देशका बीमा क्षेत्रका नियामक निकायहरूको संस्था एएफआईआर (एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स) को १९ औं वार्षिक बैठक तथा सम्मेलन, २०२४ र बीमा नियमन सम्बन्धी एशिया प्रशान्त क्षेत्रको सातौं उच्चस्तरीय बैठक, २०२४ काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरण, इन्टरनेसनल एशोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस), एएफआईआर र फाइनान्सियल स्टेबिलिटी इन्स्टिच्युट (एफएसआई) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
बैठक माघ ७ र ८ गते तथा एएफआईआर वार्षिक सम्मेलन माघ ८ र ९ गते सञ्चालन गरिएको थियो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले एशिया प्रशान्त क्षेत्रका बीमा नियामक निकायहरूको सम्मेलन नेपालमा आयोजना भएकोमा खुशी व्यक्त गर्दै जलवायु परिवर्तन र प्राकृतिक विपद्बाट हुने वित्तीय नोक्सानीलाई सम्बोधन गर्न साझा बीमा पद्धति विकासको आवश्यकता रहेको बताए।
कार्यक्रममा एएफआईआरका अध्यक्ष तथा अस्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटीका महाप्रबन्धक पिटर कोहिहागेन र एफएसआईका अध्यक्ष फर्नाण्डो रेस्टोईले सभापतित्व गरेका थिए। दोस्रो दिन जापानको फाइनान्सियल सर्भिस एजेन्सीका उपमन्त्री शिगेरू अरिजुमीले विश्व बीमा बजारको विकासबारे विशेष सम्बोधन गरेका थिए।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय प्रणाली, वित्तीय साक्षरता, वित्तीय पहुँच, विकासको श्रृङ्खला, वित्तीय क्षेत्रमा अवलम्बन गरिएका नीतिगत सिद्धान्त, चुनौती र अवसर लगायतका विषयमा जानकारी दिएका थिए।
बैठकमा जलवायु परिवर्तन, प्राकृतिक विपद्, प्रविधिमा भएको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगका कारण उत्पन्न जोखिमहरूलाई सम्बोधन गर्न नियामक निकायहरूको भूमिका, समावेशी बीमा प्रणाली र जोखिम व्यवस्थापनबारे छलफल भएको थियो।
एसिया–प्रशान्त क्षेत्रका नेपाल, युनाइटेड अरब इमिरेट्स, भारत, चीन लगायतका देशहरुमा केही समय अघि प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भएका क्षतिलाई सम्बोधन गर्न बीमाको भूमिका तथा बीमा मार्फत भौगोलिक विकटता तथा आर्थिकरूपले पछि परेका बर्गहरूमा बीमाको पहुँच विस्तारका साथै पारामेटिक इन्स्योरेन्स र अन्य जोखिम व्यवस्थापनका लागि विभिन्न मुलुकहरूले अवलम्न गरेका विधिहरूका बारेमा पनि छलफल भएको थियो ।
कार्यक्रममा नेपाललगायत विभिन्न देशका प्रतिनिधिहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, प्रोटेक्सन ग्याप घटाउने विधि र महाविपत्तिको समयमा हुने वित्तीय रक्षावरणका विषयमा प्रस्तुति गरेका थिए।