संकटमा प्रभु मनि ट्रान्सफरः वर्षदिनमा साढे १२ करोड आम्दानी गायब, १ अर्ब १० करोड ऋण लिँदै
काठमाडौं । रेमिट्यान्स सेवा प्रवाह गर्दै आएको प्रभु ग्रुप अन्तर्गतको प्रभु मनि ट्रान्सफर वित्तीय रुपमा निकै कमजोर देखिएको छ । सञ्चालन आम्दानीमा गिरावट, ऋणको भारी चाप र ब्याज तिर्ने क्षमता गुम्दै गएको अवस्थाले कम्पनीलाई संकटमा धकेलिरहेको हो ।
कम्पनीको सञ्चालन आम्दानी निरन्तर ओरालो लागी रहेको छ । केयर रेटिङ एजेन्सिका अनुसार वर्षमा कम्पनीको १२ करोड ६० लाख सञ्चालन आम्दानी गायब भएको छ । सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको सन् २०२४ मा १८ करोड ३० लाख रुपैयाँमा सीमित भएको हो । कम्पनीले सन् २०२१ मा ५४ करोड ८० लाख र सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । कोभिड १९ को समयमा समेत उत्कृष्ट व्यापार गरेको कम्पनीको आम्दानी पछिल्लो समेत निरन्तर खुम्चिदै गएको छ ।
कम्पनीको ब्याज, मूल्यह्रास र करभन्दा पहिलेको नाफा मार्जिन पनि सन् २०२१ मा ३६.०१ प्रतिशत रहेकोमा सन् २०२४ मा ७.६० प्रतिशतमा झरेको छ । जसले गर्दा कम्पनीको सञ्चालन मुनाफामा समेत भारी गिरावट देखिएको हो । सन् २०२२ मा उक्त मार्जिन ३६.३८ प्रतिशत र सन् २०२३ मा ३४.७२ प्रतिशतले रहेको थियो ।
कम्पनीकोको वित्तीय जोखिम विगत पनि केही वर्षमा उल्लेखनीय रूपमा बढेको छ । २०२१ मा ४.९६ गुणा रहेको ऋण–आधारित संरचना २०२४ मा १९६.८० गुणामा पुगेको छ, जसले कम्पनीको ऋणको चापलाई उच्च दरमा वृद्धि भएको देखिएको छ । त्यस्तै, ब्याज कवरेज अनुपात २०२१ मा १.०४ बाट घटेर २०२४ मा ०.०८ मा झरेको छ, जसले ऋणको ब्याज तिर्नसमेत कम्पनीलाई कठिनाइ भएको देखिन्छ ।
कम्पनीको नगद प्रवाहमा पनि गम्भीर समस्या देखिन्छ । समग्र ऋण र कुल नगद सञ्चितिको अनुपात २०२१ मा १२७.६६ गुणामा रहे पनि २०२२ देखि यो नकारात्मकमा परिणत भएको छ । हालको अनुपात २०२४ मा ४.९३ पुगेको छ ।
कम्पनी वित्तीय अवस्थामा कमजोर भएपछि १ अर्ब १० करोड लाख रुपैयाँ बराबरको ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन गरि सो मात्राको कर्जा सुविधा लिन केयर रेटिङ्ग नेपालमार्फत रेटिङ्ग गराएको छ । रेटिङका आधारमा कम्पनीको वित्तीय स्थिति कमजोर रहेको देखिन्छ । प्रभु मनी ट्रान्सफरको दीर्घकालीन बैंक सुविधाको कूल सीमा १ अर्ब ४४ करोड ७७ लाखबाट घटाएर १ अर्ब ८ करोड मिलियनमा झारिएको छ भने अल्पकालीन बैंक सुविधाको सीमा पनि १५ करोडबाट घटाएर २ करोडमामा झारिएको छ ।
कम्पनीले रेमिट्यान्स क्षेत्रमा आफूलाई स्थापित गरे पनि अन्य ठूला वित्तीय संस्थाहरू र प्रतिस्पर्धी कम्पनीहरूको दबाबले कम्पनीको बजार हिस्सा कम हुँदै गएको छ ।
जुलाई १६, २००२ मा स्थापित प्रभु मनि ट्रान्सफर प्रभु ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी हो । कम्पनीले नेपाल भित्र र बाहिरबाट नेपालका विभिन्न ठाउँहरुको नेटवर्क मार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । नेपाल बाहिरको रकम ट्रान्सफरको लागि कम्पनीले २५ कम्पनी÷ बैंक÷वित्तीय संस्थासँग र देशभित्रका ६ हजार बैंकिङ एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ हजार सहकारी एजेन्टसँग साझेदारी गरेको छ ।
हाल मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, युएई, अमेरिका लगायतका देशहरुमा नेपाली रकम ट्रान्सफर गर्दै आएको छ । यो कम्पनीका मालिक देवीप्रसाद भट्टचन हुन्, जो प्रभु समूहका संस्थापक अध्यक्ष हुन् । कम्पनीका प्रमुख व्यवस्थापक रमेश्वर सापकोटा हुन् ।