जीवन बीमा कम्पनीको नयाँ व्यवसाय १६ अर्ब नजिकः नेपाल र नेशनल अगाडि, ग्रोथमा प्रभु महालक्ष्मी
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क आर्जन) गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरूले १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए। गत आवको तुलनामा चालू आवमा प्रथम बीमाशुल्क आर्जन १४.६५ प्रतिशतले वृद्धि भएको हो।
चालू आर्थिक वर्षमा नेपाल लाइफले सर्वाधिक ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसलाई पछ्याउँदै नेशनल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै एलआईसी नेपालले १ अर्ब ३३ करोड १ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब १९ करोड ६२ लाख र सूर्यज्योति लाइफले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै सिटिजनले ९० करोड १६ लाख रुपैयाँ, एशियन लाइफले ८२ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्सले ७५ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले ६२ करोड ८१ लाख रुपैयाँ, रिलायबलले ६२ करोड ५५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ६० करोड ४५ लाख रुपैयाँ, आइएमई लाइफले ५९ करोड ८३ लाख रुपैयाँ, सन नेपालले ४७ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४४ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशूल्क आर्जन गरेका छन्।
वृद्धिदरका आधारमा हेर्ने हो भने प्रभु महालक्ष्मीले आक्राम रुपमा व्यवसाय विस्तार गर्न सफल भएको छ। कम्पनीले ४८.९४ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा राष्ट्रिय जीवन बीमाको ४१.२६ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै एलआईसीको २७ प्रतिशत, नेपाल लाइफको २४.६० प्रतिशत, सूर्यज्योतिको २२.९६ प्रतिशत, नेशनलको १७.६२ प्रतिशत, हिमालयनको १३.५८ प्रतिशत र सिटिजनको १३.०८ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै सानिमा रिलायन्सको ६ प्रतिशत, एशियन लाइफको ४.९६ प्रतिशत र मेट लाइफको ३.८६ प्रतिशतले वृद्धि भएको छ भने ३ वटा कम्पनीको घटेको छ। यसरी घट्नेमा रिलायबलको २.९४ प्रतिशत आइएमईको ११ प्रतिशत र सन नेपालको २९.२७ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घटेको छ।