जीवन बीमकको व्यवसाय ८ %ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा सिटिजन र रिलायबल आक्रामक
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा सो बीमा शुल्क आर्जन गरेका हुन् ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपाल लाइफ इन्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने गत आवको सोही अवधिको तुलनामा सिटिजन लाइफ र रिलायबल नेपालको बीमा शुल्क आर्जन सबैभन्दा बढी अंकले बृद्धि भएको छ ।
यस अवधिमा नेपाल लाइफको व्यवसाय १२.१६ प्रतिशतले बृद्धि भएर २२ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । साथै, बीमा शुल्क आर्जनको आधारमा दोस्रो नम्बरमा रहेको नेशनल लाइफको बीमा शुल्क आर्जन गत आवको तुलनामा १२.१४ प्रतिशतले बृद्धि भएर नौ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
साथै, एलआइसी नेपालको व्यवसाय ९.६६ प्रतिशतले बृद्धि भएर नौ करोड ४६ रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २.९३ प्रतिशतले बृद्धि भएर आठ अर्ब ३३ करोड रुपैयाँ, सूर्यज्योति लाइफको व्यवसाय १८.२६ प्रतिशतले बृद्धि भएर पाँच अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको व्यवसाय १३.१४ प्रतिशतले बढेर चार अर्ब २१ करोड रुपैयाँ, सिटिजन लाइफको व्यवसाय २३.६० प्रतिशतले सर्वाधिक बृद्धि भएर तीन अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने सानिमा रिलायन्सको बीमा शुल्क आर्जन १३.४९ प्रतिशतले बढेर तीन अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा मेट लाइफ नेपालको व्यवसाय ६.७८ प्रतिशतले बढेर दुई अर्ब ६ करोड रुपैयाँ, आइएमई लाइफको बीमाशुल्क आर्जन १५.७२ प्रतिशतले बृद्धि भएर दुई अर्ब ४४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको व्यवसाय १९.०९ प्रतिशतले बढेर दुई अर्ब ४२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको व्यवसाय आक्रामक २३.४१ प्रतिशतले बृद्धि भएर दुई अर्ब ३ करोड रहेको छ भने सन नेपाल लाइफको बीमा शुल्क आर्जन १२.५२ प्रतिशतले बढेर दुई अर्ब रुपैयाँ रहेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन गत आवको तुलनामा ४१ प्रतिशतले घटेर दुई अर्ब ७७ करोड रुपैयाँमा सीमित रहेको छ ।