शेयर कारोबारबाट हुने बैंकको कमाई २२ प्रतिशतले बढ्यो, नबिल र ग्लोबलको धेरै, कस्को आम्दानी कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट ३ अर्ब रुपैयाँ ८७ करोड संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट ३ अर्ब ८७ करोड ६८ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको हुन् ।
बैंकहरुले शेयर बजारबाट गरेको आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासको भन्दा २२.२६ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुको शेयर बजारबाट हुने आम्दानी ३ अर्ब १७ करोड ९ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
पछिल्लो समय शेयर बजार आएको सुधारले बैंकहरुलाई फाइदा पुगेको छ । चालु आर्थिक वर्षका सुरुवात दुई महिनामा बजार देखिएको उचाईमा बैंक मनग्य आम्दानी गर्ने सफल भएका हुन् । सो पश्चात बजार अपेक्षा अनुसार बढेपनि ह्वात्तै घटेको समेत छैन । जसको फाइदा बैंकहरुले समेत लिएका छन् । चार वटा बैंकको यस्तो आम्दानीमा गिरावट आएको छ भने अन्य बैंकहरुले बढाएका छन् ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई चुक्ता पुँजीको १ प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न अनुमति दिएको छ । यस प्रावधानअनुसार बैंकहरूले सेयर बजारमा गरेको लगानीलाई नेट ट्रेडिङ आम्दानीमा समावेश गर्नुपर्नेछ, जसले गर्दा यस माध्यमबाट बैंकहरूले थप आम्दानी गरेका छन् ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा शेयर बजारबाट सर्वाधिक नाफा आर्जन गर्ने बैंकका ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । पछिल्लो ६ महिनामा बैंकले शेयर बजारबाट हुने आम्दानी २८.८६ प्रतिशतले बढाएर ३७ करोड ६६ लाख २२ हजार रुपैयाँ पुराएको छ ।
यसअवधिमा शेयर बजारबाट सर्वाधिक आम्दानी गर्ने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकको आम्दानी ३२.५७ प्रतिशतले बढेर ३४ करोड २६ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, शेयर बजारबाट सर्वाधिक आम्दानी गर्ने तेस्रो नम्बरमा रहेको नबिल बैंकले स्टान्डर्ड चार्टड बैंकले ३२ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.२७ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा शेयर बजारबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३१ करोड ९६ लाख, सानिमा बैंकले २९ करोड ७० लाख, प्रभु बैंकले २७ करोड १६ लाख, हिमालयन बैंकले २६ करोड ७२ लाख, कृषि विकास बैंकले २१ करोड ८६ लाख, एभरेष्ट बैंकले २१ करोड ३१ लाख, एनएमबि बैंकले १७ करोड ९५ लाख, लक्ष्मी सनराइज बैंकले १७ करोड ५७ लाख, कुमारी बैंकले १४ करोड ८९ लाख र माछापुच्छ्रे बैंकले १४ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा शेयर बजारबाट सिटिजन्स बैंकले १३ करोड, नेपाल एसबिआई बैंकले ११ करोड, प्राइम बैंकले ९ करोड, नेपाल बैंकले ७ करोड, सिद्धार्थ बैंकले ७ करोड, एनआईसी एशिया बैंकले ५ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ करोड रुपैयाँ कमाएका छन् ।