कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृती

८ माघ २०८१, मंगलवार १८:१८

नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृती दिएको छ ।

बैंकले १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेर स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।

राष्ट्र बैंकले मंगलवार अग्राधिकार सेयर जारी गर्नका लागि स्वीकृती प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।

राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत असार १७ गते नै ९ प्रतिशत प्रतिफल तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*